लुम्बिनीमा ‘विश्व शान्ति’का लागि २५ अर्बपति जुट्दै


भैरहवा– पछिल्लो समय लुम्बिनीमा उच्चस्तरीय कार्यक्रमले गति लिन थालेका छन् । यसैक्रममा ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन् । उनीहरु यहाँ आएर विश्व शान्ति कार्यक्रममा सहभागी हुनेछन् ।
विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’ मंसिर २४–२६ मा हुनेछ । कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्वसदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्ति कार्यक्रममा सहभागी हुँदै छन् ।
कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने खतिवडाले जानकारी दिइन् । उनकाअनुसार नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माणका विषयमा पनि छलफल हुनेछ । स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृतको आवाजमाथि छलफल तथा बहस हुने कार्यक्रम संयोजक शेखर गौतमले बताए ।








प्रतिकृया दिनुहोस्