June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रूपन्देही उद्योग संघद्वारा रक्तदान, ३० युनिट रगत संकलन

Advertisement

बुटवल– रूपन्देही उद्योग संघको ४८औं स्थापना एवं औद्योगिक दिवस–२०८२ को अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलको सहकार्यमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएर रक्तदान गरेका थिए । उद्योग संघले बुटवल मण्डपमा पुस ३ गतेदेखि १७ गतेसम्म १६ औं औद्योगिक प्रदर्शनी गर्दैछ ।

Advertisement

मण्डप क्षेत्रमा रहेको सचिवालय आयोजित रक्तदानबाट ३० यूनिट रगत संकलन भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले उद्योगी–व्यवसायी समाजका हरेक काममा साथ दिन तयार रहेको सन्देश यस्ता कार्यक्रमले दिने बताए । नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले हरेक संघ–संस्थाले रक्तदानलाई नियमित कार्यक्रमका रूपमा समावेश गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप सापकोटा, पूर्वअध्यक्ष माधव पौडेल, रोटरी बुटवलका पूर्वअध्यक्ष कृष्णप्रसाद अर्याल, रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्रतिनिधि निमिता पाण्डे सहितका वक्ताहरूले रगत अभाव हटाउन यस्ता सामाजिक अभियानलाई सबै संस्थाले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक सतिष सापकोटाले संघले व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वका गतिविधिमा निरन्तर सक्रिय रहेको बताए । संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले संघले गर्न लागेका नियमित गतिविधिमा रक्तदानलाई स्थायी रूपमा समावेश गरिएको जनाए । रचनात्मक कार्यमा साथ र सहयोग प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त उनले गरे ।