June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

अन्तरविद्यालय क्रिकेटः मणिमुकुन्दद्वारा शतिया स्कूल १० विकेटले पराजित

Advertisement

भैरहवा– मणिमुकुन्द सेकेन्डरी स्कूलले भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ । सोमबार उसले श्री शतिया इङ्गलिस बोर्डिङ स्कूलमाथि १० विकेटको जित निकालेको हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शतिया स्कूल १० ओभर ३ बलमा अलआउट हुँदै ५२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न मणिमुकुन्दका अर्पण तिमिल्सिनाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुगम केसीले ३ र मिलन चापागाईंले १ विकेट हात पारे । शतिया स्कूलका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

५३ रनको सामान्य लक्ष्य पछ्याएको मणिमुकन्दले ५ ओभर २ बलमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसको जितमा अर्पण तिमिल्सिनाले अविजित १८ र विराट नेपालीले नटआउट १४ रनको योगदान गरे । खेलमा मणिमुकुन्दका अर्पण प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ ।