June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

सरकारप्रति जेनजी अगुवा नै असन्तुष्ट

Advertisement

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारप्रति जेनजी अगुवाहरू नै असन्तुष्ट देखिएका छन्। गत एक सातादेखि लगातार प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको विरोध गर्दै आएका जेनजी अभियन्ता मिराज ढुंगानाले आगामी निर्वाचनप्रति असन्तुष्टि जनाएका छन्।

Advertisement

जेनजी आन्दोलन (भदौ २३–२४) पछि जेनजीकै आह्वानमा बनेको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, “निर्वाचनबाट जेनजीले के पाउँछ?”

उनले प्रत्यक्ष कार्यकारीको व्यवस्था नभएसम्म निर्वाचनको औचित्य नहुने धारणा निरन्तर व्यक्त गर्दै आएका छन्।

त्यस्तै, जेनजी अभियन्ता भावना राउतले पनि प्रधानमन्त्री कार्की तथा वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गरेकी छन्।

“इतिहासले यो नागरिक सरकारलाई ‘एक व्यक्तिको स्वार्थ समूहले चलाएको’ भनेर नलेखोस् भन्ने चाहना मात्र हो। हामीलाई फेरि धोका नदिनुहोस्।”,सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै उनले लेखेकी छन्।

यसअघि, जेनजी अभियन्ता रक्षा बमले पनि सरकारको आलोचना गरेकी थिइन्।

बम नेतृत्वको ‘नेपाल जेनजी फ्रन्ट’ले प्रधानमन्त्रीको सचिवालयमा नातेदारलाई नियुक्ति गरिएको विषयमा गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बर्खास्तीको माग गरेको थियो। यद्यपि, प्रधानमन्त्री कार्कीले श्रेष्ठबाहेक केही जेनजी युवासहित अन्य सचिवालय सदस्यहरूलाई बर्खास्त गर्दै सचिवालयको संरचना सानो बनाएकी थिइन्।