पूर्वसभामुख महरालाई धरौटीमा छाड्न आदेश


चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सुन तस्करीमा मुछिएका पूर्वसभामुख महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले बिहीवार आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरा गत असोज २६ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ परेका थिए ।
गत असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।
उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्थासमेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।








प्रतिकृया दिनुहोस्