June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रवि र जोशीको मुमुद्दाको सुनुवाइ बिहीवार पनि स्थगित

Advertisement

भैरहवा– आफ्नै कानुन व्यवसायीको माग अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दाको सुनुवाइ विहीवार पनि स्थगित भएको छ ।

Advertisement

उच्च अदालत तुलसीपुर–बुटवलमा विहीवार हुने भनिएको सुनुवाइ रविका कानुन व्यवसायीले स्थगित गरिदिन निवेदन दिएकाले स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जनाए ।

न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो । यही इजलासमा अघिल्लो बिहीवार पनि उनीहरुको मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी हाल पुर्पक्षका लागि थुनामा छन् ।

सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि गत साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो ।
सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानी निवेदनसाथ पेस गरेका थिए ।

जोशीले पनि बिगो बापतको जमानी पेस गरेका थिए । तर, दुवैको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने ? भन्ने यकिन नभएकाले रिहा गर्न मिल्ने अवस्था नभएको भनि उस्तै खालको आदेश गरिएको थियो । लामिछाने हाल ललितपुरको नख्खु कारागार छन् भने जोशी भैरहवा कारागारमैं छन् ।