June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवालीको आपत्ति

Advertisement

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । नेता ज्ञवालीले कार्यवाहक आयुक्त भण्डारीको ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

Advertisement

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना हास्यास्पद भएको टिप्पणी समेत गरेका छन् ।

‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो। एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ’, ज्ञवालीले लेखेका छन् ।

साथै उनले त्यसवेला माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको तथा २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई थाहा हुनुपर्ने समेत बताएका छन् ।

‘भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए’, ज्ञवालीले भनेका छन्,‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’