लुम्बिनीको मन्त्रिपरिषद् बैठकका सात निर्णय कस्ता छन् ?


दाङ– लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका देउखुरीमा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवा गरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने गरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।
कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।
यस्तै बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।








प्रतिकृया दिनुहोस्