June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

‘चौथो वडाध्यक्ष टेनिस बल क्रिकेट प्रतियोगिता’ सुरु

Advertisement

भैरहवा– स्थानीय स्तरमा खेलकुदको विकासका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को आयोजनामा ‘चौथो वडाध्यक्ष टेनिस बल क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतवार सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले गरेका थिए । सोमवारसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा सिद्धार्थनगर-४ अन्तर्गतका ११ वटा क्रिकेट टिमको सहभागिता छ ।

नगर प्रमुख खाँले खेलकुदको विकासका लागि केन्द्र र स्थानीय सरकारले ठुलो लगानी गरेको उल्लेख गर्दै स्थानीयस्तरमा हुने यस खालका प्रतियोगीताबाट उदयीमान खेलाडीको जन्म हुने बताए । ‘खेलाडी इमान्दार र अनुशासीत भएर खेल्न जरुरी छ’, खाँले भने, ‘खेललाई फुर्सदको समय पास गर्ने वा रमाइलोका लागि भन्दा व्यवसायिक रुपमा खेलेमा खेलाडीको भविष्य उज्वल छ ।’

सिद्धार्थनगर–४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला) ले स्थानीय स्तरमा खेलकुदको विकासका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए । ‘स्थानीय स्तरमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्न यस खालको प्रतियोगिताको आयोजनना निरन्तर हुन जरुरी छ’, उनले भने, ‘यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु नगरस्तरीय, प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा पुग्ने छन् ।’ उनले आफू वडाध्यक्ष रहेसम्म क्रिकेट र फुटबलको यस खालका प्रतियोगिता निरन्तर सञ्चालन हुने बताए ।

कचरीहवा युवा क्लव र दोगहोरा युवा क्लब बिच सम्पन्न प्रतियोगीताको उद्घाटन खेलमा १० बिकेटले कचरीहवा युवा क्लव बिजयी भएको छ । गोर्खे र समय एभेन्जर टिम बिच भएको दोस्रो खेलमा १० बिकेटले गोर्खे टिम बिजयी भएको छ । मुक्तीधाम र ढाक्रे क्लव बिच अर्को खेलमा मुक्तिधाम बिजयी भएको छ । दोगहरा फ्रन्टस र उद्योगपुरी बिचको खेलमा २ रनले उद्योगपुरी बिजयी भएको छ । दोगहरा वारियर र टाइटन युवा टिम बिच भएको अर्को खेलमा ४९ रनले टाइटन टिम बिजयी भएको छ ।

प्रतियोगितामा विजेता टिमलाई ४१ हजार र उपविजेतालाई ३१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै, म्यान अफ द सिरिजलाई ११ हजार, बेष्ट बलरलाई ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय नगद पुरस्कार प्रदान गरिने छ ।