बाँके निकुञ्जमा बाघको सँख्या ५१ पुग्यो, मानव सुरक्षामा चुनौती



नेपालगन्ज–१३ वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सँख्या चार गुणा बढीले वृद्धि भएर ५१ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण–२०२६ अनुसार सन् २०१३ मा चारवटा बाघ रहेको निकुञ्जमा सन् २०१८ मा २१ र सन् २०२२ मा २५ वटा बाघ थिए ।
बाघको सँख्यामा भएको यो वृद्धिले वन्यजन्तु संरक्षणमा उत्साह थपिएसँगै निकुञ्ज आसपासका बस्तीमा मानव सुरक्षाको चुनौती पनि बढेको छ । बाघलगायत वन्यजन्तु बस्तीमा पस्ने, मानिसमाथि आक्रमण गर्ने र घरपालुवा पशु मार्ने घटनाले स्थानीय बासिन्दा चिन्तित छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल बाघको सँख्या बढ्नु संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउँछन् । बाघको बढ्दो सँख्यासँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार गत आर्थिक वर्षमा बाँकेमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सङ्घीय सरकारले १० लाख रुपैयाँ राहत दिने व्यवस्था भए पनि घटनापछि राहत दिनुभन्दा आक्रमण रोक्न पूर्वतयारी आवश्यक रहेको स्थानीयको माग छ ।
बाघ संरक्षणसँगै स्थानीयको जीवन र जीविकोपार्जन सुरक्षित बनाउनु अहिले बाँकेका लागि प्रमुख चुनौती बनेको छ ।
राप्तीसोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले स्थानीय बासिन्दा घाँसदाउरा सङ्कलन, पशु चराउन र जीविकोपार्जनका लागि वनमा निर्भर रहेकाले जोखिम बढेको बताए ।
स्थानीयले बाघको आवतजावत बढी हुने क्षेत्र पहिचान गरी तारजाली लगाउन, नियमित निगरानी बढाउन र वनमा निर्भर परिवारलाई वैकल्पिक रोजगारी तथा आयआर्जनका अवसर उपलब्ध गराउन माग गरेका छन् ।
निकुञ्ज प्रशासनले पनि जोखिमयुक्त क्षेत्रको पहिचान, सुरक्षा सावधानी, प्रभावितको तत्काल उद्धार र वैकल्पिक आयआर्जनका कार्यक्रमलाई द्वन्द्व न्यूनीकरणका महत्वपूर्ण उपाय मानेको छ ।








प्रतिकृया दिनुहोस्