भैरहवा बहुमुखी क्याम्पसकी दुबे वित्तीय साक्षरता प्रस्तुति प्रतियोगितामा दोस्रो



भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा बीबीए अध्ययनरत छात्रा सपना दुबेले नेपाल धितोपत्र बोर्डद्वारा आयोजित अन्तरकलेज वित्तीय साक्षरता प्रस्तुति प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छन्।
शुक्रबार बुटवलमा आयोजित उक्त प्रतियोगितामा दुबेले ‘लगानी योजना तथा निर्णय प्रक्रियामा वित्तीय साक्षरताको भूमिका’ विषयमा प्रस्तुति दिएकी थिइन्। वित्तीय ज्ञान, लगानीसम्बन्धी सचेतना तथा विवेकपूर्ण वित्तीय निर्णयको महत्त्वलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको उनको प्रस्तुति उत्कृष्ट ठहरिएको थियो।
यस उपलब्धिले भैरहवा बहुमुखी क्याम्पसको शैक्षिक प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा वित्तीय साक्षरता, व्यावहारिक ज्ञान र प्रस्तुति कलाको विकासमा सकारात्मक सन्देश दिएको जनाइएको छ ।
छात्रा दुबेले हासिल गरेको सफलताप्रति क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले बधाई व्यक्त गर्दै उनको उपलब्धिले क्याम्पस परिवारलाई गौरवान्वित बनाएको बताए। उनले दुबेको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।
त्यसैगरी, क्याम्पसका बीबीए–बीआईटीएम–बीबीएम कार्यक्रम निर्देशक उज्ज्वल अधिकारीले दुबेको उपलब्धि विद्यार्थीहरूको प्रतिभा, मेहनत र व्यावहारिक सिकाइको उदाहरण भएको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय ज्ञानलाई व्यवहारमा उतार्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
दुबेले हासिल गरेको यस सफलतालाई क्याम्पसको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।








प्रतिकृया दिनुहोस्