काँग्रेस केन्द्रीय सदस्यमा उठ्दै भैरहवाका २६ वर्षीय युवा ओजश शर्मा



भैरहवा– उमेरले २६ वर्ष पुगे । उनको समाज सेवा, सामाजिक संघसंस्थामा देखिने अग्रसरता र राजनीतिक रुची भने चाख लाग्दो छ । सानै उमेरदेखि राजनीतिमा होमिएका उनी भैरहवाका आधा दर्जन सामाजिक संस्थामा आबद्ध छन् । सिद्धार्थनगर–१, बेलहिया नवासी ओजश शर्मा यसपटक भने केन्द्रीय राजनीतिमा होमिने तयारी साथ अघि बढेका छन् ।
युवा उमेरमै राजनीतिक यात्राको लामो अनुभव बोकेको छन् । सानै उमेरदेखि नेपाली कांग्रेसको विचार, इतिहास र राजनीतिलाई नजिकबाट बुझ्दै आएका शर्मा अहिले पार्टीको १५औं केन्द्रीय महाधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनी छोटो समयमै संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म पुग्न सफल भएका छन् ।
बाल्यकालदेखि नै घरमा नेपाली कांग्रेसको झण्डा देख्दै र कांग्रेसको इतिहास तथा राजनीतिक गतिविधिबारे सुन्दै हुर्किएका उनी १८ वर्षको उमेरदेखि औपचारिक रूपमा कांग्रेसको राजनीतिमा सक्रिय भएको बताउँछन् । ‘राजनीतिक विचारप्रतिको रुचिलाई व्यवहारमै रूपान्तरण गर्दै नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा अगाडि बढाएँ, यसक्रममा पार्टीका पनि विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु’, उनले भने, ‘यसपटक केन्द्रीय सदस्यमा उठ्दै छु ।’ आजदखि काँग्रेसको केन्द्रीय महाधिवेशन प्रारम्भ भएको छ ।
नेविसंघमा सिद्धार्थनगर सचिवको जिम्मेवारी सम्हालेका उनले त्यसपछि जिल्ला सह–सचिवका रूपमा समेत काम गरे । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नगर सह–सचिव पदमा उम्मेदवारी दिएका उनी अहिले ४९३ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन् । यसलाई उनको राजनीतिक यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
संघीय निर्वाचनका क्रममा पटक–पटक नेविसंघ क्षेत्र नं. ३ को संयोजकको जिम्मेवारीसमेत सम्हालेका उनले संगठन परिचालन, निर्वाचन अभियान तथा युवालाई राजनीतिक गतिविधिमा जोड्ने काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
राजनीतिसँगै उनको शैक्षिक पृष्ठभूमि पनि बलियो छ । भारतको दिल्ली–नोएडास्थित एमिटी विश्वविद्यालयबाट बीबीए अध्ययन पूरा गरेका उनले अब भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको अध्ययन गर्ने योजना बनाएका छन् ।
जेन–जी आन्दोलन तथा विभिन्न राजनीतिक दलहरूले सञ्चालन गरेका आन्दोलनमा समेत सहभागिता जनाएका उनी कांग्रेसको महाधिवेशनमा उम्मेदवारी दिने पक्कापक्की भएको बताउँछन् । २६ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीले उनको राजनीतिक महत्वाकांक्षा र युवाको नेतृत्वप्रतिको चाहनालाई देखाउँछ ।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, संगठनका विभिन्न जिम्मेवारी, निर्वाचन परिचालनको अनुभव हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको उनको यात्रा हेर्दा कम उमेरमै उनले राजनीतिमा ‘सानो उमेरमा ठूलो फड्को’ मारेका छन् । अबको उम्मेदवारीले उनको राजनीतिक यात्रालाई अझ नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।








लेखकको सम्वन्धमा