October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

साढे तीन महिनादेखि रेसुंगा विमानस्थलमा उडान ठप्प

Advertisement

गुल्मी–गुल्मीको रेसुंगा विमानस्थलमा साढे तीन महिनादेखि नियमित हवाई सेवा रोकिएको छ । जेठ २४ गते पछिल्लो पटक उडान भएकोमा त्यसयता विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । उडान हुन नसक्नुमा यात्रुको अभाव हो ।

Advertisement

रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हप्तामा आइतबार, मंगलबार र शुक्रबार नियमित उडानको तालिका रहे पनि लामो समयदेखि उडान सञ्चालन हुन सकेको बताए । यसअघि बर्खायाममा मौसम प्रतिकूल हुँदा उडान प्रभावित हुने गरे पनि यसपटक भने उडानको तयारीसमेत हुन नसकेको उनले जनाए ।

उडान प्रभावित हुनुमा मौसमसँगै यात्रु अभावलाई अर्को प्रमुख कारण मानिएको छ । थापाका अनुसार, हवाई इन्धनको मूल्य बढेसँगै गुल्मी–काठमाडौं हवाई भाडासमेत ३ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको थियो । भाडा बढेपछि यात्रुको संख्या घटेकाले नियमित उडान सञ्चालन गर्न कठिन भएको छ ।

हाल गुल्मी–काठमाडौं एकतर्फी हवाई भाडा १० हजार ५ सय रुपैयाँ तथा काठमाडौं–गुल्मी १० हजार ७ सय रुपैयाँ कायम गरिएको छ । यसअघि यी दुईतर्फको भाडा क्रमशः ७ हजार हजार ३ सय र ७ हजार ५ सय रुपैयाँ थियो ।

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आएको हो । निर्धारित तालिकाअनुसार काठमाडौं विमानस्थलबाट बिहान ६ः३० बजे र रेसुंगाबाट बिहान ७ः३० बजे उडान हुने गरेको थियो ।

एकतर्फी उडान सञ्चालनका लागि दुवैतर्फ कम्तीमा ११–१२ जना यात्रु आवश्यक पर्ने गरेको र त्यस अनुरुपको हवाइ यात्रु नपुगे उडान स्थगित हुँदै आएको थापाको भनाइ छ । मौसममा सुधार आएर विमानलाई आवश्यकता अनुरुपको यात्रु उपलब्ध भए पुनः उडान सञ्चालन गर्न सकिने छ ।

रेसुंगा विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन भएको साढे दुई वर्षजति भएको छ । रेसुंगा नगरपालिकाको पहलमा नियमित उडान सुरु गरिएको भए पनि पछिल्लो समय भाडा वृद्धि, यात्रु अभाव र मौसमका कारण सेवा प्रभावित हुँदै आएको छ ।