October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

खाद्यान्न उत्पादनमा अब्बल बर्दियामा बाल कुपोषणको अवस्था चिन्ताजनक

Advertisement

बर्दिया–पर्याप्त खाद्यान्न उत्पादन हुने बर्दिया जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ । बालबालिकाको खानपान, पोषण र स्याहारमा पर्याप्त ध्यान नदिँदा जिल्लामा कुपोषणको दर उच्च रहेको तथ्याङ्कले देखाएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार, आर्थिक वर्ष २०८२–८३ मा स्वास्थ्य कार्यालय बर्दियाले पाँच वर्षमुनिका २० हजार ९८५ बालबालिकाको पोषण अवस्था परीक्षण गर्दा ३ हजार २६ जनामा कुपोषण देखिएको हो । यो सँख्या १४ दशमलव ३२ प्रतिशत हो । तीमध्ये ४१९ जना बालबालिकामा कडा र २ हजार ६०७ जनामा मध्यम खालको कुपोषण पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लामा कुपोषणको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनका अनुसार, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पाँच वर्षमुनिका बालबालिकामा १० देखि १५ प्रतिशतसम्म कुपोषण देखिनु चिन्ताजनक हो । ‘जिल्लामा कुपोषणको दर १४ प्रतिशतभन्दा माथि छ । त्यसैले कुपोषण घटाउन तत्काल फरक ढङ्गले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ’ गौतमले भने । बर्दियामा कडा कुपोषणको समस्या विगतका वर्षमा पनि उल्लेख्य रहेको थियो ।

परीक्षण गरिएका बालबालिकामध्ये १७ हजार ९५९ जनाको पोषण अवस्था सामान्य रहेको छ । उमेरअनुसार बालबालिकाको तौल र उचाइ मापन गरी पोषण अवस्था पहिचान गरिएको हो । तथ्याङ्कअनुसार गुलरिया नगरपालिकामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर सबैभन्दा बढी १८.१ प्रतिशत रहेको छ । ठाकुरबाबा नगरपालिकामा १५.९५ प्रतिशत, मधुवन नगरपालिकामा १५.४ प्रतिशत, बारबर्दिया नगरपालिकामा १४.४६ प्रतिशत र राजापुर नगरपालिकामा १४.१२ प्रतिशत बालबालिका कुपोषित पाइएको छ ।

बढैयाताल गाउँपालिकामा १२.६ प्रतिशत, बाँसगढी नगरपालिकामा ११.२४ प्रतिशत र गेरुवा गाउँपालिकामा ११.२९ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ । बर्दिया अस्पतालका बालरोग विशेषज्ञ विश्वनाथ शाह आमाको पोषण अवस्थाले पनि बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको बताउँछन् । कुपोषित आमाबाट जन्मिएका बालबालिकामा कुपोषणको जोखिम बढी हुने भनाइ उनको छ । बालबालिका आवश्यक पोषणयुक्त र सन्तुलित आहार नपाउँदा कुपोषित हुने उनले बताए ।