October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बिशेष खोजी अभियानबाट दाङमा आठ नाल भरुवा बन्दुक बरामद

Advertisement

दाङ–अवैध बन्दुक खोजी अभियान सञ्चालन गरेको दाङ प्रहरीले पछिल्लो पटक जिल्लाको विभिन्न स्थानबाट आठ नाल भरुवा बन्दुक बरामद गरेको छ । ती सवै बन्दुक जंगल तथा झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा बाट बरामद भएका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले मंगलवार बिहान ६ बजेदेखि विशेष खोजी सञ्चालन गरेको थियो । खोजी अभियानको क्रममा विभिन्न स्थानमा लुकाइराखिएका भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–८ दुलेभिरस्थित सामुदायिक वनको झाडीबाट दुई नाल भरुवा बन्दुक बरामद गरेको थियो । प्रहरी चौकी गोलटाकुरीको टोलीले दंगीशरण गाउँपालिका–९ बुर्कासालस्थित झाडीबाट दुई नाल बन्दुक फेला पारेको थियो ।

अस्थायी प्रहरी पोष्ट रिहारबाट खटिएको टोलीले लमही नगरपालिका–९ स्थित आमबासौली सामुदायिक वनको झाडीमा लुकाइराखिएको दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भैंसाहीबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका–७ भैंसाहीस्थित भैंसाही खोलाको किनार नजिकैको झाडीबाट एक नाल भरुवा बन्दुक बरामद गरेको थियो ।

प्रहरी चौकी चिराघाटबाट परिचालित टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित सिर्जना सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरेको छ । बरामद गरिएका ती भरुवा बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जनाए ।