October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बाँकेको बालविवाहमुक्त वडामै किशोरी आमा र नवजात शिशुको मृत्यु

Advertisement

बाँके–बालविवाहमुक्त घोषणा गरिएको बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयामा १७ वर्षीया किशोरी र उनका नवजात शिशुको सुत्केरी हुने क्रममा मृत्यु भएको छ ।

Advertisement

घरमै असुरक्षित रूपमा सुत्केरी गराउँदा अत्यधिक रक्तस्रावका कारण किशोरी आमाको मृत्यु भएपछि बालविवाहमुक्त वडाको घोषणा र त्यसको कार्यान्वयनमाथि प्रश्न उठेको छ ।

भरैयाकी १७ वर्षीया लालमती पुन मगरले शनिबार बिहान घरमै पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । जन्मनेबित्तिकै नवजात शिशुको मृत्यु भएको थियो । त्यसपछि गम्भीर अवस्थामा रहेकी लालमतीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–१३ का वडासदस्य बलबहादुर घर्तीले अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको बताए । घर्तीका अनुसार केही दिनदेखि लालमतीको स्वास्थ्यमा समस्या देखिएको थियो । सल्यानमै विवाह भएको लालमतीको परिवार गत वर्ष बसाइँसराइ गरेर कोहलपुर आएको थियो ।

कोहलपुर नगरपालिका–१३ लाई २०७७ सालमा बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । तर, बालविवाहमुक्त घोषणा भएको वडामै १७ वर्षीया किशोरी आमा बनेको र सुत्केरी हुने क्रममा उनको तथा नवजात शिशुको मृत्यु भएको घटनाले घोषणाको प्रभावकारिता र कार्यान्वयनमाथि प्रश्न उठाएको छ ।

कम उमेरमा लुकिछिपी, भागी विवाह गर्ने कतिपय घटना जानकारीमा नआउने भनाइ घर्तीको छ । नेपालको कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न निषेध गरेको छ । बालविवाह मुक्तको घोषणा गरे पश्चात् वडाभित्र बसाइँसराइ गरेर आएका परिवारमा बालविवाह भइरहेको छ कि छैन भन्ने विषयमा प्रभावकारी ढंगले निगरानी हुन नसकेको यस घटनाले प्रष्ट्याएको छ ।