स्वास्थ्य सूचकमा रामग्राम जिल्लाको उत्कृष्ट, सरावल दोस्रो



परासी–स्वास्थ्य सेवाको कार्यसम्पादनमा रामग्राम नगरपालिका पश्चिम नवलपरासीको जिल्लाका सात स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले २९ वटा स्वास्थ्य सूचकका आधारमा गरेको मूल्याङ्कनमा रामग्रामले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले स्थानीय तहका स्वास्थ्य शाखाको समग्र कार्यसम्पादन मूल्याङ्कन गर्दा रामग्राम नगरपालिकाले ७८ दशमलव ५३ अङ्क प्राप्त गरेको जनाए ।
मूल्याङ्कनमा सरावल गाउँपालिका ७७ दशमलव ८९ अङ्कसहित दोस्रो र प्रतापपुर गाउँपालिका ७६ दशमलव ९७ अङ्कसहित तेस्रो भएका छन् । त्यस्तै, बर्दघाट नगरपालिका ७४ दशमलव ४९ अङ्कसहित चौथो स्थानमा रहँदा सुस्ता गाउँपालिकाले ७४ दशमलव ४० अङ्क प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको छ ।
सुनवल नगरपालिका ७२ दशमलव ६२ अङ्कसहित छैटौँ र पाल्हीनन्दन गाउँपालिका ७१ दशमलव ३३ अङ्कसहित सातौँ स्थानमा रहेका छन् । स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थासमेत छनोट गरेको छ ।
नगरपालिका क्षेत्रतर्फ बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ । गाउँपालिकातर्फ प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकीलाई उत्कृष्ट छनोट गरिएको छ ।
स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र स्वास्थ्यसम्बन्धी विभिन्न सूचकमा गरेको प्रगतिलाई मूल्याङ्कनको आधार बनाएको थियो ।








प्रतिकृया दिनुहोस्