October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

आफन्तको पहिचानका लागि दाङमा ३७ परिवारको डीएनए नमुना संकलन

Advertisement

दाङ–रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचान र खोजीका लागि दाङमा ३७ परिवारका सदस्यबाट डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार घोराही र तुलसीपुरमा परिवारका सदस्यलाई बोलाएर रगतको नमुना लिइएको हो । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १४ जना र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट २३ जनाको नमुना संकलन गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।

बाढी तथा पहिरोका कारण सम्पर्कविहीन भएका व्यक्तिको परिचय यकिन गर्न आवश्यक पर्ने कागजातसहित उपस्थित भएका आफन्तबाट नमुना लिइएको प्रहरीले जनाएको छ । संकलित नमुना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

दाङमा सम्पर्कविहीन भएका ५४ जनामध्ये सबैको परिवारबाट जिल्लामै नमुना संकलन भने गरिएको छैन। प्रहरीका अनुसार आठ जनाका परिवार जिल्ला बाहिर रहेकाले उनीहरू बसेकै स्थानबाट डीएनए परीक्षणका लागि रगतको नमुना लिइसकिएको छ । अन्य नौ जनाका आफन्त पनि दाङबाहिर रहेकाले सम्बन्धित जिल्लाबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएको डिएसपी केसीले जनाए ।

दाङमा, ४४ पुरुष र १० महिला सम्पर्कविहीन रहेको प्रहरीले उल्लेख गरेको छ । सम्पर्कविहीनको अवस्था यकिन हुन नसकिरहेका बेला आफन्तको डीएनए नमुना संकलनले सम्भावित शव तथा अवशेषको पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।