बाढीपीडितका लागि कर्मचारी मिलन केन्द्रद्वारा १११,१११ रूपैयाँ सहयोग



भैरहवा– रसुवा बाढीपीडितका लागि कर्मचारी मिलन केन्द्र, रुपन्देहीले आर्थिक सहयोग गरेको छ । संस्थाले कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरी विपद्मा सरकारसँग हातेमाला गरेको हो ।
मिलन केन्द्रका अध्यक्ष प्रेमराज पोख्रेलले निजामती सेवा दिवसको अवसर पारेर बाढी पीडितको सहयोगार्थ १ लाख ११ हजार एक सय एघार रुपैयाँ सहयोग गरेको बताए । ‘निजामती सेवा दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराख्दै कर्मचारी मिलन केन्द्र रुपन्देहीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेको हो’, उनले भने ।
अध्यक्ष पोख्रेलका अनुसार निजामती सेवा दिवसको अवसर पारेर केन्द्रमा आबद्ध कर्मचारीहरूको सहभागिता तथा सहयोगबाट उक्त रकम संकलन गरी बाढीपीडितको राहतका लागि कोषमा जम्मा गरिएको हो ।
‘बाढीका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा राज्यलाई सहयोग पुर्याउने उद्देश्यले हामीले पनि हातमालो गरेका हौं’, उनले भने । प्राकृतिक विपत्तिको समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै केन्द्रले राहत तथा पुनःस्थापनमा सरकारसँग सहकार्य गरी सेवाभाव राख्न आग्रह गरेको छ ।
अध्यक्ष पोख्रेलले सरकारी सेवामा कार्यरत कर्मचारीको भूमिका केवल प्रशासनिक जिम्मेवारीमा मात्र सिमित नरही सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग पनि जोडिनुपर्ने सन्देश दिन सहयोग गरिएको उल्लेख जनाए ।








प्रतिकृया दिनुहोस्