भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा सिद्धार्थ रंगशाला शोकसभा



भैरहवा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएकाहरुको सम्झनामा सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा शोकसभा गरिएको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा गरिएको हो । शोकसभामा संघका पदाधिकारी, विभिन्न क्षेत्रका सामाजिक अगुवा र खेलाडीहरुको सहभागिता थियो । प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको भन्दै घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थिए ।
शोकसभामा बोल्दै संघका अध्यक्ष हरिबहादुर थापाले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय क्षतिले आफूहरू अत्यन्त दुःखी भएको बताए । थापाले विपत्तिमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिहरूप्रति संघले पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने जनाए । उनले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
साथै उनले वेपत्ताको खोजी तथा विस्थापितलाई पुनःस्थापना समयमै गर्न सके मात्रै मृतकहरुप्रति सच्चा सम्मान हुने जनाउँदै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
कार्यक्रममा मृतकको सम्झनामा एक मिनेट मौनधाण गरिएको थियो । मौनधारण मार्फत सहभागीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए ।
शोकसभामा नेपाल क्रिकेट संघ (क्यान) का पूर्वसचिव प्रशान्तविक्रम मल्ल, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेनचुरी लगायत खेलप्रेमीको उपस्थिती थियो । भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति सोमबार देशभर शोक मनाइएको छ ।








प्रतिकृया दिनुहोस्