पाल्पामा डेङ्गु संक्रमण फैलिँदै, दुई महिनामै १७१ जनामा पुष्टि



पाल्पा–पाल्पामा पछिल्लो समय डेङ्गुको संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । डेङ्गु संक्रमित बिरामीको चाप बढेपछि केही बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको पाल्पाका अस्पतालहरूले जनाएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यस आवको साउन र भदौ २० गतेसम्ममा मात्रै पाल्पाका १ सय ७१ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । पछिल्ला दुई महिनामा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईले बताए ।
उनका अनुसार डेङ्गुका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरू पाल्पाका विभिन्न अस्पतालमा उपचाररत छन् । मिसन अस्पताल, पाल्पा अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा संक्रमित बिरामी भर्ना भएर उपचार गराइरहेका छन् ।
केही वर्षअघिसम्म मुख्यतः तराईका जिल्लामा देखिने डेङ्गु संक्रमण अहिले पहाडी क्षेत्रमा समेत फैलिन थालेको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालका अनुसार विगतमा तराई केन्द्रित रहेको डेङ्गु सार्ने एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको प्रभाव पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा समेत देखिन थालेको हो ।
ढकालका अनुसार लुम्बिनी प्रदेशमा डेङ्गु संक्रमितको संख्याको आधारमा पाल्पा सवैभन्दा धेरै प्रभावित छ । वातावरणीय परिवर्तन तथा लामखुट्टेको फैलावटका कारण पहाडी जिल्लामा समेत डेङ्गुको जोखिम बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।








प्रतिकृया दिनुहोस्