October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पश्चिम नेपाल बस व्यवसायीको १० लाख १ हजार १ सय ११ सहयोग

Advertisement

भैरहवा–बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिले १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

Advertisement

प्रालिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत हस्तान्तरण गर्न लागेको हो । प्रालिका अध्यक्ष दधिराम खरेलले हिमालयन बैंक लिमिटेडको चेकमार्फत सहयोग रकम महासंघलाई हस्तान्तरण गरिने जानकारी दिए ।

प्रालिले जारी गरेको पत्रमा तिब्बततर्फबाट अचानक भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरिएको छ ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रालिले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढीपहिरोका कारण यातायात व्यवसायी, चालक, सहचालक, मजदुर तथा यात्रुसमेत प्रभावित भएको र विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा रहनु आफ्नो सामाजिक दायित्व भएको प्रालिका भैरहवा क्षेत्रका इञ्चार्ज शंकर खरेलले बताए ।

उद्धार, खोजी, राहत तथा उपचार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि खरेलले जनाएका छन् ।