October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

महिनौंदेखि थुप्रिएको फोहोर उठ्ने खबरले सिद्धार्थनगरवासीमा खुशी

Advertisement

भैरहवा–बिगत चार महिनादेखि नियमित रूपमा फोहोरमैला उठ्न नसक्दा दुर्गन्ध र फोहोरको समस्याले आक्रान्त बनेको सिद्धार्थनगर नगरपालिकामा अव नियमित रुपले फोहरको व्यवस्थापन हुने भएको छ ।

Advertisement

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँले सामाजिक सञ्जालमार्फत नगरमा नियमित रुपमा अब फोहर उठ्ने जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले सडकमा थुपारिएको फोहोर नगरपालिकाका कर्मचारीले सफा गर्दै उठाइरहेको तस्बिर सार्वजनिक गरेका छन् ।

उनले अबदेखि नगरपालिकाले नियमित रूपमा फोहोर संकलन गर्ने र विगतमा जस्तै फोहोर उठाउने ट्याक्टर नियमित रूपमा साबिक कै अनुसार, नगरका सडक र भित्रि चोकहरुमा पुग्ने जनाएका छन् ।

धेरै महिनासम्म नगरको यत्रतत्र जताततै फोहरको डुंगुर थुप्रिएर दुर्गन्धित हुन थालेको र फोहोरका कारण सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य भइरहेका बेला नगरपालिकाले महिनौंदेखि जारी राखेको पहलकदमीले अहिले सार्थकता पाएको हो ।

पब्लिककुरासँगको कुराकानीमा नगरप्रमुख खाँले फोहोरमैला उठ्न नसक्दा नगरवासीले निकै समस्या भोग्नुपरेको स्वीकार गर्दै उचित समयमा फोहोर व्यवस्थापन हुन नसक्दा नगरवासी आक्रोशित भएको जनाए । नगरको कुनै स्थानमा फोहोर नउठेमा वा ट्याक्टर नआएमा नगरपालिकाको फोहोर व्यवस्थापन शाखामा सम्पर्क गर्न नगरवासीलाई खाँले आग्रह गरेका छन् ।

फोहोर संकलनका लागि तोकेकै स्थानमा फोहोर ल्याएर राख्न पनि नगर प्रमुख खाँले नगरवासीलाई अनुरोध गरेका छन् । ‘फोहोर उठेन भनेर तनाव नलिनुहोस्, नगरपालिकाले तोकेको स्थानमा फोहोर राख्नुहोस्’ नगरवासी समक्ष आग्रह गर्दै नगरप्रमुख खाँले भने, ‘सवै ठाँउको फोहर संकलन गरेर व्यवस्थापन गरिन्छ ।’

नगरमा थुप्रिएको फोहर अव नियमित रुपमा उठ्ने सन्देश उनले सामाजिक सञ्जालमा पोस्ट गरेपछि नगरवासीको भने मिश्रित प्रतिक्रिया दिएका छन् । रमजान खानले जहाँ पायो त्यहीँ गाडी पार्किङ गर्ने समस्या रहेको उल्लेख गर्दै एक दिन मात्र फोहोर सफा गरेर बाँकी लामो समयसम्म फोहोर जताततै हुने गरेको गुनासो गरेका छन् ।

अब्दुल खानले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया गाउँमा कहिले फोहोर उठाउन ट्याक्टर पुग्ने हो ? भन्दै प्रश्न गरेका छन् । उनले भैरहवाको मात्र फोहोर उठाउने हो कि गाउँ क्षेत्रको पनि फोहोर व्यवस्थापन गरिने हो ? भन्ने विषयमा नगरपालिकासँग जवाफ मागेका छन् । सुरज श्रेष्ठले नगर प्रमुख खाँलाई ‘नगर प्रमुख नभएर जादुगर’ भन्दै व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् । उनले अन्त्यमा नगर प्रमुखलाई धन्यवाद दिएका छन् ।

सिद्धार्थनगर नगरपालिका–१२ डाँडागाउँका स्थानीय जयकेश हरिजन भने नगर प्रमुखको पोस्टपछि आशावादी देखिएका छन् । आफ्नो गाउँमा समेत लामो समयदेखि फोहोर नउठेको बताउँदै उनले अब फोहोर उठाउन ट्याक्टर आउने खबरले खुसी लागेको प्रतिकृया दिए ।

नगरपालिकामा अव संकलन हुने फोहोरलाई सिद्धार्थनगर नगरपालिका–१ मा व्यवस्थापन गरिने जानकारी नगर प्रमुख खाँलेदिए । नेपालको प्रमुख स्थलमार्ग तथा नेपाल प्रवेशद्वारमध्ये पर्ने बेलहिया नाका हुँदै दैनिक हजारौँ पर्यटक तथा यात्रु नेपाल प्रवेश गर्ने गर्छन् । नगरका विभिन्न क्षेत्रमा थुप्रिएको फोहोर र दुर्गन्धले सिद्धार्थनगरको सौन्दर्यसँगै पर्यटकीय छविमा समेत असर पार्दै आएको छ ।