खानाका ‘उत्कृष्ट स्वाद’ पाइने मझेरी भान्साघर


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–८, कैलाशपथस्थित मझेरी भान्सा घरले अग्र्यानिक खाना तथा खाजा–नास्तासहितको सेवा ग्राहकसमक्ष पस्किँदै आएको छ । विगत दुई वर्षदेखि सञ्चालनमा रहेको यो भान्सा घरमा ३० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ । यहाँ १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्थानीय व्यवसायी अर्जुन कार्कीले २०८१ सालमा मझेरी भान्सा घर स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षाअनुसार सञ्चालनमा आउन नसकेका कारण व्यवसायबाट सोचेजस्तो प्रतिफल प्राप्त हुन नसकेको उनी बताउँछन् ।
विमानस्थल सञ्चालनमा आउन नसक्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्या कम हुनुको असरसमेत आफ्नो व्यवसायमा परेको कार्कीको भनाइ छ ।
स्थानीय व्यवसायी कार्कीले फरक–फरक क्षेत्रमा लगानी गर्दै आएका छन् । उनले २०६६ सालमा भैरहवाको लुम्बिनी गेटनजिकै रोयल लुम्बिनी कटेज सञ्चालनमा ल्याएका थिए । दुई वर्ष सञ्चालन गरेपछि उनले उक्त कटेज अर्कै व्यक्तिलाई जिम्मा दिए ।
त्यसपछि कार्कीले भैरहवाको नारायणस्थान मन्दिरनजिकै हार्डवेयर पसल सञ्चालनमा ल्याए । उक्त हार्डवेयर पसल अहिले पनि सञ्चालनमा छ । २०७५ सालमा ७५ लाख रुपैयाँ लगानीमा बुटवलमा हार्डवेयर पसलको शाखासमेत खोले । बुटवलमा त्यसबेला सडक निर्माण तथा विस्तारको काम भइरहेको थियो । सडक विस्तारका क्रममा निर्माण कार्य हुन थालेपछि आवतजावतमा समस्या भएर ग्राहकको आगमन घट्न थालेको उनी बताउँछन् ।
त्यसको एक वर्षपछि कोभिड–१९ महामारी सुरु भएपछि व्यवसायमा प्रत्यक्ष असर पर्यो । लाखौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरेको व्यवसाय दुई वर्षमै बेच्ने कि अन्यत्र सार्ने भन्ने समस्या उनीसामु आयो । बुटवलको हार्डवेयर व्यवसाय बन्द गरेर त्यहाँ रहेका सबै सामग्री भैरहवाको पसलमा ल्याए ।
कार्कीले २०७९ सालमा ५० लाख रुपैयाँ लगानीमा पाल्पाको दोभानमा अरुणा रिसोर्ट सञ्चालनमा ल्याए । बुटवल र भैरहवामा आशातीत सफलता प्राप्त गर्न नसकेपछि उनले पाल्पामा व्यवसाय सञ्चालन गर्ने योजना बनाएका थिए । तर, त्यहाँ पनि उनले सोचेजस्तो सफलता हात पार्न सकेनन् ।
पाँच महिना राम्रो चलेको रिसोर्ट क्षेत्रमा सडक खन्ने तथा पानीको पाइप जडान गर्ने काम सुरु भएपछि व्यवसाय प्रभावित भएको उनले बताए । त्यसपछि आफ्ना सबै सामग्री कवाडीको भाउमा बेचेर भैरहवा फर्किनुपरेको कार्कीको भनाइ छ ।
जताततै गरेको लगानीबाट सोचेजस्तो सफलता प्राप्त नभए पनि उनले हिम्मत भने हारेनन् । अन्ततः उनी फेरि भैरहवामै फर्किएर मझेरी भान्सा घर सञ्चालनमा ल्याए ।
मझेरी भान्सा घरमा थकाली भेज खाना २५० रुपैयाँ, चिकेन खाना ४०० रुपैयाँ र मटन खाना ५०० रुपैयाँमा उपलब्ध छ । त्यस्तै, खाजाका रूपमा तास, सेकुवा, भुटुवा, चाइनिज, इन्डियनलगायत विभिन्न परिकार उपलब्ध छन् । सबै प्रकारका खाजा, नास्ता तथा खानाका परिकार सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको कार्कीको दाबी छ ।
‘भान्सा घरमा जन्मोत्सव समारोह, साथीभाइको समूह तथा पारिवारिक वातावरणमा बसेर खाना तथा खाजा–नास्ताको आनन्द लिन सकिन्छ’, उनले भने । यहाँ पाइने हरेक खानाका स्वाद उत्कृष्ट छन् । धेरैले मन पराउँछन् ।
रातिको समयमा आकर्षक लाइटिङ, हरियाली तथा प्राकृतिक वातावरणमा बस्न मिल्ने क्याबिन र ग्राहकको चाहनाअनुसार एसी क्याबिनसमेत उपलब्ध रहेको उनले जानकारी दिए ।
कार्कीका अनुसार भान्सा घरमा विभिन्न ठाउँबाट ग्राहक आउने गर्छन् । कोही एकान्त र शान्त स्थान रुचाउँछन् भने कोही प्राकृतिक वातावरणमा रमाउन चाहन्छन् । ग्राहकको चाहनाअनुसार बस्ने स्थानको व्यवस्थापन गर्ने गरिएको उनले बताए ।
यतिमात्रै होइन, मझेरी भान्सा घरले खाजा तथा खानाको होम डेलिभरी सेवा पनि उपलब्ध गराउँदै आएको छ । विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए आगामी दिनमा लगानी थप गरी भान्सा घरलाई विस्तार गर्दै लजसमेत सञ्चालन गर्ने आफ्नो योजना रहेको कार्कीले जनाए ।
भैरहवाको बर्मेली टोलबाट नजिकै रहेको मझेरीमा पाहुनाले चाहेजस्तो परिकार खान पाउँछन् । यही कारण यहाँ एकपटक आएका धेरै पाहुना पटक–पटक फर्किएर आउँछन् । यसैले पनि भैरहवाको यो व्यवसाय सफलताको उचाई पुग्ने उनको अपेक्षा छ ।








लेखकको सम्वन्धमा