जनैपूर्णिमाको पूर्वसन्ध्यामा भैरहवामा बढ्यो चहलपहल


भैरहवा–जनैपूर्णिमा तथा रक्षाबन्धनको पूर्वसन्ध्यामा भैरहवाका बजारमा चहलपहल र रौनक बढेको छ ।
जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वलाई लक्षित गरी मिठाई पसलदेखि सडकछेउमा राखिएका अस्थायी ठेलासम्ममा जनै, तागो, राखी तथा राखी, मिठाई, फलफूल तथा पूजाका सामग्री बिक्रीका लागि राखिएका छन् ।
जनैपूर्णिमाका दिन तागाधारी समूहले गुरु तथा मान्यजनबाट जनै र तागो बाँध्ने र दिदीबहिनीले दाजुभाइलाई रक्षासूत्र अर्थात् रक्षाबन्धन बाँध्ने परम्परा छ । गुरु तथा आफन्तजन, चेलीवेटी र दाजुभाइलाई खुवाउनकालागि बजारमा मिठाईको माग बढेको व्यापारीहरू बताउँछन् ।
भैरहवाका मुख्य बजारक्षेत्रमा केही दिनयता ग्राहकको भीड बढ्न थालेको छ । कतिपय व्यवसायीले पर्वलाई लक्षित गर्दै सडकछेउमै अस्थायी ठेला राखेर मिठाई तथा अन्य सामग्री बिक्री गरिरहेका छन् । पूजा सामाग्री पसलहरुमापनि सर्वसाधारणको भीड बढेको छ ।
बजारका मिठाई पसलहरूमा विभिन्न स्वाद र आकारका मिठाई आकर्षक रूपमा सजाएर राखिएका छन् । दाजुभाइ तथा आफन्तलाई कोसेलीका रूपमा लैजान ग्राहकहरूले मिठाई खरिद गर्ने गरिएको छ । स्थायी पसलसँगै अस्थायी ठेलामा व्यापार गर्नेहरूका लागि पनि जनैपूर्णिमा राम्रो आम्दानी गर्ने अवसर बनेको छ ।
पर्व नजिकिएसँगै भैरहवाको गल्लामन्डी, मिलनचोक, बुद्धचोक र शान्तीनगर लगायत बजार क्षेत्रमा बिहानैदेखि मानिसको आवतजावत बढेको छ । किनमेलका लागि आएका सर्वसाधारणका कारण मुख्य बजार क्षेत्र र मिठाईपसलहरुमा बढी चहलपहल देखिएको छ । व्यापारीहरूले पनि ग्राहकको मागअनुसार विभिन्न प्रकारका मिठाई, जनै, राखी तथा रक्षासूत्र र पर्वसँग सम्बन्धित पूजाका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ ।
नारायणस्थान मन्दिरका पुजारी हरि उपाध्याय (वाग्ले) ले जनैपूर्णिमा परम्परागत रूपमा भगवानको पालादेखि नै चलिआएको पर्व भएको र यस पर्वलाई जनै, तागो तथा राखी बाँध्ने पर्वका रूपमा लिने गरिएको बताए ।
उपाध्यायका अनुसार, जनैपूर्णिमाका दिन गुरुसँग शिष्यले, मावलीघरमा भान्जाले, सशुरालीमा ज्वाँइले र दाजुभाइले दिदीबहिनीसँग जनै, तागो र राखी बाँध्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।
जनैपूर्णिमाको पूर्वसन्ध्यामा बजारमा देखिएको भीडभाडले पर्वप्रतिको उत्साह र सांस्कृतिक रौनकलाई झल्काएको छ । व्यापारीहरूका लागि कारोबार बढाउने अवसर बनेको छ । सर्वसाधारणमा उत्साह थपिएको छ ।








लेखकको सम्वन्धमा