August 15, 2026, Saturday
२०८३ श्रावण ३० शनिबार

गुल्मीका ६ स्थानमा होमस्टे

Advertisement

गुल्मी–जिल्लाका विभिन्न ६ स्थानमा रहेका होमस्टेका कारण गाउँमा चहलपहल बृद्धि भएको छ । जिल्लास्थित भार्सेको रानीवन, ठूलो लुम्पेक, भुर्तुङको धुवाँखोला, टिमुरेको रेमी, स्वाँरा र रेसुंगामा होमस्टे छन् । सत्यवती–८, भार्सेमा ८ वर्षदेखि रानीवन सामुदायिक होम स्टे पाहुना घर सञ्चालनमा छ ।

Advertisement

स्थानीय १४ महिला र तीन पुरुष होमस्टे सञ्चालन समूहमा छन् । कालीगण्डकी–७, भर्तुङमा पनि ८ वर्षदेखि धुवाँखोला सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । उक्त होमस्टे सञ्चालन समूहमा ३० स्थानीय आबद्ध छन् ।

सत्यवती–३, मा ठूलोलुम्पेक सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । उक्त समुहमा एक पुरुष र १३ महिला आबद्ध छन् । चन्द्रकोट गाउँपालिका–४ मा ७ वर्षदेखि टिमुरे सामुदायिक होम स्टे संचालनमा रहेको छ । १४ महिला र ४ पुरुष होमस्टे समुहमा आबद्ध छन् । तीन लाख रुपैयाँ लगानी गरिएको होम स्टेमा ५० जना अट्छन् ।

तम्घास नजिकै रेसुङ्गा–१३, भंगारीमा ६ वर्षदेखि रेसुंगा होम स्टे सञ्चालनमा छ । १९ महिला र ७ पुरुष होमस्टे सञ्चालन समहुमा आबद्ध छन् । यहाँका होम स्टेमा पाहुना पर्यटक आउने वित्तिकै स्थानीय परम्परा अनुसार स्वागत गरिन्छ । त्यसपछि नास्ता र साँझ खानाको व्यवस्था हुन्छ । साथै सांझ छिप्पिएपछि साँस्कृतिक कार्यक्रम गरिन्छ । प्याकेज अनुसार विहानफेरि पाहुनाका लागि नास्ता व्यवस्था हुने गरेको छ ।

होमस्टेमा नास्तामा मासुका परिकारसँगैं स्थानीय दालको बटुक रोटी, सिस्नुको साग, विरम्ला, भुटेको मकै, टिमुरको छोप र मोही रहेका छन् । खानामा स्थानीय जातका मासुको परिकार, आलुको अचार, सिजन अनुसार तरकारी सिमी, बोडी, साग, कोदोको ढिँडो, मकैको आटो र स्थानीय दाल लगायत रहेका छन् ।

बिहानी नास्तामा कोदोको रोटी र चिया तथा विशुद्ध अर्गानिक खाना र नास्ताका परिकार लगायतका सेवा उपलब्ध छन् । पर्यटन व्यवसायी सुदर्शन खनालले होम स्टेका कारण रित्तिन थालेका बस्तीमा चहलपहल बढेको छ । ‘पहाडी रहनसहन, स्थानीय खाना र मौलिक संस्कृतिले पर्यटक तानिरहेको छ’, उनले भने, ‘ग्रामीण अर्थतन्त्रको जग बलियो बनेको छ भने पर्यटकीय सम्भावना झनै बढेर गएको छ ।’ पछिल्लो समय बसाईसराइ गरेर गएकाहरु होमस्टेका कारण कम्तीमा घुम्न र रम्न भएपनि गाउँ आउने गरेको उनले बताए ।