August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सिलिण्डर बढी सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

Advertisement

भैरहवा–एलपी ग्यासको आपूर्ति सहज बन्दै गए पनि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभावको अवस्था देखिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।

Advertisement

भारतबाट एलपी ग्यासको आयात नियमित र सहज रूपमा भइरहेको तथा उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको संघको भनाइ छ । उपभोक्ताले अतिरिक्त सिलिन्डर खरिद नगरे हाल देखिएको अभावको समस्या समेत छिट्टै समाधान हुने दाबी संघको छ ।

संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा समेत एलपी ग्यासको आपूर्तिमा समस्या नआउने उल्लेख छ । उनका अनुसार उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यास खरिद गरे बजारमा माग र आपूर्तिबीचको असन्तुलन हटाउन सहयोग पुग्नेछ ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात पछिल्ला दिनमा करिब १५ प्रतिशतले बढेको छ । निगमका अनुसार बिगत २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ ।

ग्यास उद्योग संघले बजारको मागअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन उद्योगहरूले निरन्तर प्रयास गरिरहेको जनाएको छ । घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री तथा वितरणको व्यवस्था मिलाउन बिक्रेताहरूलाई पनि संघले आग्रह गरेको छ । संघले आपूर्ति सहज रहेकाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना नगर्न पनि अनुरोध गरेको छ ।