नुहाउने क्रममा कपिलवस्तुमा दुई बालक बेपत्ता


कपिलवस्तु–कपिलवस्तुको यशोधरा गाउँपालिका–८, सिंहखोरस्थित कर्बला नजिकै वाणगंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय १३ वर्षीय सर्फराज मुसलमान र १३ वर्षीय उवेद मुसलमान रहेका छन् ।
शनिबार घरबाट गाईबस्तु चराउन गएका उनीहरू नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए । घटनाबारे शनिबार साँझ करिब ५ बजे सूचना प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको थियो ।
विजौरी मर्यादपुरस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक गोविन्द सिंहथापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सात जना सशस्त्र प्रहरीको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी र स्थानीयवासीले समेत वाणगंगा नदीमा बेपत्ता बालकहरूको खोजी गरिरहेका छन् । नदीको बहाव र पानीको गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ । आइतवार अपरान्हसम्म दुवै बालक फेला पर्न सकेका छैनन् । खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्