August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

मन्त्री लम्सालद्वारा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन

Advertisement

भैरहवा—दुई दिन अघि गृह जिल्ला आएका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लुम्बिनी प्रदेश र आसपास निर्माणाधीन सडक पूर्वाधारको अवलोकनमा जुटेका छन् । पर्यटकीय र व्यापारिक रणतीतिक महत्वका सडकको अवस्थाबारे उनले बुझिरहेका छन् ।

Advertisement

मन्त्री लम्सालले शनिवारबाट सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अवलोकन गरिरहेका छन् । यसक्रममा उक्त सडक निर्माणकालागि बजेट पर्याप्त उपलब्ध गराइने बताएका छन् । यसैवर्षबाठ सालझण्डीदेखि ढोरपाटनसम्मसडक कालोपत्र गर्न ठेक्का लाग्ने उनको भनाई थियो ।

रुपन्देहीको सालझण्डीबाट सडक अनुगमन गर्दै अर्घाखाँची सदरमुकाम सन्धिखर्क आएका थिए । सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सम्बोधन गरेर ढोरपाटनतर्फ लागेका थिए । सन्धिखर्कबाट गुल्मी हुँदै ढोरपाटनसम्म सडकको अवस्था, निर्माण व्यवसायीले गरेको काम हेर्न हिँडेको उनले बताए ।

कालोपत्र गर्न बाँकी रहेको १ सय ४० किलोमिटर सडक खण्डको यसैवर्ष ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए । ‘सडकमा बजेट अभाव हुँदैन, पुरै सडकलाई कालोपत्रे गर्न यसैवर्ष ठेक्का हुन्छ,’ मन्त्री लम्सालले भने, ‘काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ ।’

सडक योजना प्रमुख गगालबहादुर भण्डारीले सडकको हालसम्म भएको भौतिक प्रगति, निर्माण व्यवसायीले काम नगरेर ठेक्का तोड्नुपर्दा काममा ढिलासुस्ती भएको, सडकको महत्त्व र पर्याप्त बजेट नहुँदा निर्माणको गति सुस्त भएको जस्ता समस्या मन्त्री लम्साललाई सुनाएका थिए ।

एकैदिन हिमाल, पहाड र तराई जोड्ने पर्यटकीय मार्ग हो । बाग्लुङको ढोरपाटनमा सिकार आरक्ष रहेको छ । त्यहाँ सिकार खेल्न तथा घुम्नलाई स्वदेशी तथा विदेशी पर्यटकलाई यात्राको लागि सहज र छोटो सडक मानिन्छ । सरकारले २०६५ सालमा नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष तथा पर्यटकीय क्षेत्रलाई तराई र अन्य सहरसँग जोड्ने उद्देश्यले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको बहुवर्षे योजना अघि सारेको हो ।

राष्ट्रिय प्राथमिकताको सडक निर्माण सुरु अनुमानित लागत ८ अर्ब थियो । अहिले लागत बढेर ११ अर्ब रुपैयाँ पुगेको छ । पर्याप्त बजेट अभावमा काम द्रुत गतिमा अगाडि बढ्न सकेको छैन । अहिलेसम्म ४६.५ प्रतिशत काम सकिएको छ ।

यस आर्थिक वर्ष ३५ करोड बजेट रहेको छ । सडकका विभिन्न ठाउँमा कालोपत्र र निर्माणको काम जारी छ । सो सडक रुपन्देहीमा ५ किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङमा ५० किलोमिटरको दूरी रहेको छ । सडकको १ सय ९७ किलेमिटर लम्बाईमध्ये १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ । यो सडक लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र गण्डकी प्रदेशको बागलुङ जोड्ने रणनीतिक सडक हो ।