August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुम्बिनीका पहाडमा लगानी बढाउन मुख्यमन्त्रीको जोड

Advertisement

भैरहवा–सहर केन्द्रित पर्यटकीय पूर्वाधारप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चिन्ता व्यक्त गरेका छन् । एउटैं स्थानमा धेरै पूर्वाधार निर्माण गर्दा पर्यटकको कमी भइरहेको उनको भनाई छ । होटल तथा रेष्टुरेन्टको निर्माण पनि विकेन्द्रित हुनुपर्नेमा उनको जोड छ । पहिले पूर्वाधार भएकै ठाउँमा नयाँ निर्माणले पाहुना नपुग्ने उनले बताए ।

Advertisement

अहिले प्रदेशका सिमावर्ती जिल्लामा स्तरीय होटल तथा रेष्टुरेन्ट धमाधम सञ्चालन भइरहेका छन् । नयाँ लगानी थपिने क्रम जारी छ । प्रदेशका रुपन्देही, बाँके, बर्दिया र दाङमा धेरै होटल तथा रेष्टुरेन्ट खुलिरहेका छन् । पहाडतर्फ अर्घाखाँचीको नरपानी र पाल्पाका डाँडामा रिर्सोट निर्माण भइरहेका छन् । ‘बुटवलबाट नजिक पाल्पाका होटल भरिभराउ भइरहेका छन,’मुख्यमन्त्री आचार्यले भने, ‘तर, त्यही पर गुल्मीमा स्तरीय होटल छैन ।’

गुल्मीको रेसुङगामा सञ्चालनमा आएको पौवा होटल पनि बन्द भइसकेको छ । स्थानीयले मुद्दा हालेपछि उक्त रिसोर्ट बन्द भएको हो । सदरमुकाम तम्घासमा केही होटल छन् । तर, ती प्रयाप्त नभएको मुख्यमन्त्रीको भनाई छ । ‘गुल्मीमा पनि चिसो मौसम र रमणीय स्थल छन,’उनले भने, ‘तर, पर्यटकका लागि स्तरीय होटल छैनन ।’ रुपन्देही लगायत तराईका जिल्लामा पर्यटकको बसाइँ लम्ब्याउन पनि पहाडी जिल्लामा पर्यटन पूर्वाधार जरुरी रहेको उनले बताए ।

उनका अनुसार प्रदेशमा धेरै भारतीय पर्यटक ओइरिने धार्मिक गन्तव्यमा प्युठानको स्वर्गद्धारी धाम पनि हो । तर, त्यहाँ भारतीय पर्यटकका लागि होटलको अभाव छ । खानाका लागि स्तरीय रेष्टुरेन्टको अभाव छ । स्वर्गद्धारीमा धार्मिक पर्यटक धेरै आउने भएपनि यात्राका क्रममा कतैपनि शाकाहारी रेष्टुरेन्ट नहुँदा उनीहरु मर्कामा पर्ने गरेको बताए । ‘उहिले हाम्रा पुर्खापनि सातु, रोटी पोको पारेर भारतमा तीर्थयात्रा गर्न जानुहुन्थ्यो,’उनले भने, ‘अहिले भारतीय धार्मिक पर्यटक पनि उतैबाट खाना, खाजा व्यवस्था गरेर आइरहेका छन् ।’

भारतीय पर्यटकलाई सुविधा पुर्याउन कपिलवस्तुको कृष्णनगर लगायत सिमावर्ती अन्य नाकाबाटै शाकाहारी रेष्टुरेन्ट सञ्चालन गर्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसित आग्रह गरे । ‘होटल, रेष्टुरेन्ट चलेन भनेर गुनासो मात्र गर्नु भएन,’ मुख्यमन्त्री आचार्यले भने, ‘कम्तिमा सम्भावना भएका क्षेत्र पहिचान गरेर लगानी गर्न मेरो अनुरोध छ ।’

पहाडी जिल्लामा लगानी गर्ने व्यवसायीका लागि कानुनी लगयात समस्या हल गर्न भूमिका खेल्ने उनले बताए । मुख्यमन्त्री आचार्यले तराईका गन्तव्य सुनसान भएका बेला अर्घाखाँचीको सुपा देउराली र नरपानीमा पर्यटकको घुँइचो लागिरहेको बताए । ‘अझैं पनि सुपा देउराली आउने पर्यटकले नरपानीमा बास पाइरहेका छैनन,’उनले भने, ‘अग्रिम बुकिङ गर्नु परिरहेको छ ।’

अहिले पनि बिदाका दिन सुपा देउरालीमा मात्रै ४५ हजार पर्यटक आउने गरेको उनले बताए । त्यसैले तराई र पहाडका गन्तव्य जोडेर प्याकेज कार्यक्रम ल्याउन उनले आग्रह गरे ।