झोलुङ्गे पुल निर्माणले बिर्साइदिएको भटकुवावासीको दुःख


गृल्मी–गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मा पर्ने भटकुवालाई भौगोलिक बनावटका कारण रुरुको ‘श्रीलङ्का’ भन्ने गरिन्छ । झट्ट सुन्दा यो गाउको नाम जति रमाइलो लाग्छ, यहाँका करिब २८० घरधुरीका बासिन्दाले बर्षायाममा भोग्दै आएको पीडा भने बेग्लै थियो ।
सडक सञ्जालको पहुँचबाट टाढा रहेको यो गाउँका लागि ताल खोला र जङ्गल कष्टकर र पीडादायी बनेर उभिन्थ्यो । गाउँबाट मदन भण्डारी राजमार्गसम्म पुग्न डेढदेखि दुई घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । अझ बर्खायाम लागेपछि ताल खोलाले निम्त्याउने बितण्डा स्थानीयका लागि जहिलेपनि त्रासदी बन्ने गथ्र्यो ।
ताल खोलाले निम्त्याउने गरेको पीडाबाट टाढा हुन धेरैले गाँउनै छाडेर बसाइ सरे । तर अव भने भटकुवाका दुःखका दिन सकिए । अव १० मिनेटमैं मदन भण्डारी राजमार्गमा पुग्न सकिन्छ । रुरुक्षेत्र गाउँपालिका–१ र ३ लाई जोड्ने गरी निर्माण भएको फलाँटे–भटकुवा झोलुङ्गे पुल निर्माण भएपछि भटकुवाका दुःखका दिन गएका हुन् ।
विसं २०४२ मा ताल खोलाले स्थानीय ऋषि बहादुर विक र नेउसी विक बावुछोरीलाई बगाएर ज्यान लियो । २०५६ सालमा खेत रोपेर फर्किदै गर्दा आँखाकै अगाडि गोरु बगाएको टुलुटुलु हेर्नुपरेको पीडा स्थानीय विष्णु भण्डारीसँग ताजा छ ।
‘खोला तरेर खेतमा काम गर्न जानेहरू बेलुका सकुशल घर फर्कन्छन् कि फर्किंदैनन् भन्ने चिन्ताले सधैं पिरोलिरहन्थ्यो’ पुल निर्माणसँगै विगतका ती दिनहरू सम्झँदै भण्डारी भावुक भन्छन्, ‘पहिले मानिससमेत मरे, गोरु बगाए । अहिले पुल बनेपछि विगतका सबै दुःख बिर्साएको छ ।’
बिगतको यही कष्टकर भूगोल र असहज यातायातका कारण गाउँ नै रित्याएर बसाइ सर्ने क्रम पनि बढ्दो थियो । ८ करोड ८५ लाख ३४ हजार ८४८ रुपैयाँ लागतमा भीमशिखर हिरा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुल अहिले ढ१ प््रतिशत भन्दा धेरै सकिएको छ । ५२५.१ मिटर लम्बाइको यो पुल सिङ्गल स्पान प्रविधिमा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल भएको स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय, बुटवलका इञ्जिनियर राजु थापा मगरको दाबी छ ।
पहिले सडकको पहुँचमा पुग्न डेढदेखि दुई घण्टा लाग्ने भटकुवाबासीलाई यो पुल बनेपछि १० देखि २५ मिनेटमै मदन भण्डारी राजमार्गमा पुग्न सकिने स्थानियवासी बताउँछन् । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यो पुलले आवातजावत सहज बनाउनुका साथै यस क्षेत्रको पर्यटकीय विकासमा पनि ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्छन् ।
‘यो सिङ्गल स्पान प्रविधिमा निर्माण भएको देशकै दोस्रो लामो पुल भएकाले यसले दुर्गम क्षेत्रलाई सुगम बनाउन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ’ ज्ञवालीको भनाइ छ ।








प्रतिकृया दिनुहोस्