आन्तरिक र बाह्य द्वन्द्वका कारण बर्दिया निकुञ्जमा पर्यटक घटे


बर्दिया–पाटेबाघ, एकसिंगे गैँडा र विशाल जंगली हात्ती सहित विभिन्न बन्यजन्तुको क्रिडास्थल बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा पर्यटकको संख्यामा गिरावट आएको छ । यसको मूख्य कारण भने आन्तरिक राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय द्वन्द्वको प्रत्यक्ष असर निकुञ्जको पर्यटन व्यवसायमा देखिएको हो ।
निकुञ्ज प्रशासनका अनुसार अघिल्लो आर्थिक वर्ष ०८१–०८२ को तुलनामा गत आर्थिक वर्ष ०८२-०८३ मा पर्यटक आगमन घटेको छ । आव ०८१–०८२ मा २८ हजार ६८ जना स्वदेशी र विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा आव ०८२–०८३ मा यो संख्या घटेर २७ हजार २५ मा सीमित भएको छ ।
तथ्याङ्क अनुसार आव ०८२–०८३ मा नेपाली स्वदेशी पर्यटक १८ हजार ९०७ जना निकुञ्ज आएका थिए । भने, विदेशी पर्यटक ६ हजार ९०१ जना आएका छन् । नेपार भारत बाहेक दक्षि एशियाली सार्क मुलुकबाट आएका पर्यटकको संख्या १ हजार २१७ जना छ । पर्यटकको आगमनबाट निकुञ्जले ३ करोड २६ लाख रुपैयाँया राजश्व प्राप्त गरेको छ ।
निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेका अनुसार पर्यटक घट्नुमा आन्तरिक र बाह्य दुवै कारण जिम्मेवार छन् । गत भदौ २३ र २४ गते देशमा चर्किएको ‘जेन–जी’ आन्दोलनका कारण आन्तरिक पर्यटकको आवागमन प्रभावित भएको र पश्चिम एसियामा भइरहेको युद्धका कारण हवाई यातायात र पर्यटकको यात्रा योजनामा असर पर्दा विदेशी पर्यटकको संख्यामा कमी आएको हो ।
वर्षभरिमध्ये सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा ४ हजार ८५१ जना र दोस्रो बढी चैत महिनामा ४ हजार ७३९ जना) आएका थिए । सबैभन्दा कम असार महिनामा २ सय ९४ जनाले निकुञ्ज भ्रमण गरेको तथ्याङ्क छ ।
बर्दिया निकुञ्ज मुख्यतः प्रत्यक्ष बाघ हेर्न पाइने गन्तव्यका रूपमा चिनिन्छ । पछिल्लो गणना अनुसार यहाँ १२५ वटा बाघ, अनुमानित १२० वटा हात्ती र ३८ वटा गैँडा रहेका छन् ।
चितवन लगायत अन्य निकुञ्जहरूमा वर्षायाम सुरु भएपछि जंगल सफारी पूर्ण रूपमा बन्द गरिने भए पनि बर्दियामा भने यो सेवा निरन्तर खुला रहनु यहाँको मुख्य विशेषता हो । यसवर्ष वर्षाले सडक अवरोध नगरेका कारण जिप सफारी बन्द नगरिएको निकुञ्जका प्रमुख अशोक रामले जनाए ।
पर्यटन व्यवसायी रामजी थापाका अनुसार बर्दिया निकुञ्जमा बाघ, हात्ती, गैँडा र बाह्रसिंगा हेर्न मात्र नभई बबई उपत्यका, कर्णाली चिसापानी पुल, गोही प्रजनन केन्द्र, हात्तीसार अवलोकनका साथै र्याफ्टिङ, फिसिङ, जिप सफारी र जंगल वाकका लागिसमेत पर्यटक आउने गर्छन् । निकुञ्ज भित्रिने कुल पर्यटकमध्ये ९९ प्रतिशतले ठाकुरद्वाराकै मूल बाटो प्रयोग गर्ने गरेका छन् ।








प्रतिकृया दिनुहोस्