अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम


बाँके- कुखुरा, चल्ला र अण्डाको आयातमा पूर्ण प्रतिबन्ध लगाए पनि भारतबाट अवैध रूपमा भइरहेको तस्करीका कारण भारतीय सिमावर्ती तराईका जिल्लाहरु बर्डफ्लुको उच्च जोखिममा परेका छन् । भारतसंगको खुल्ला सिमा क्षेत्रमा कडाइ गरिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
खुला सिमानाको फाइदा उठाउँदै लुकीछिपी पक्षीजन्य वस्तुहरू भित्रिने क्रम रोकिएको छैन । जसमध्ये पछिल्लो समयमा बाँके जिल्लापनि बर्डफ्लुको उच्च जोखिममा परेको छ ।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लु फैलिने जोखिम अत्यधिक बढेको बताएका छन् । मुख्य नाकासँगै खुला सीमा क्षेत्रमा कडाइ र आवश्यक सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन धेरै समय नलाग्ने भनाइ उनको छ ।
नेपालगन्जका नागरिक अगुवा हेमन्तराज काफ्लेले भारतका विभिन्न स्थान र नेपालका ११ जिल्लामा बर्डफ्लु देखिइसकेको अवस्थामा बाँके र आसपासका क्षेत्रमा जोखिम झन् बढेकाले सम्बन्धित निकायले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
अवैध आयात जारी रहे बर्डफ्लु भित्रिने र त्यसबाट मानव स्वास्थ्यसँगै रैथाने कुखुरापालन व्यवसायमा गम्भीर असर पर्ने चिन्ता बाँकेका किसानहरूले गरेका छन् । बाँकेकै ठुलो कुखुरा फार्ममध्ये एक, रजा ग्रुपका सञ्चालक मुख्तार राईले भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके व्यवसाय नै संकटमा पर्ने बताउछन् ।
कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले पनि बर्डफ्लु नियन्त्रण र नेपाली किसानको लगानी सुरक्षित गर्नका लागि भारतबाट हुने कुखुराको अवैध आयात रोक्नुको विकल्प नभएको बताउछन् ।
बर्डफ्लुको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बाँके प्रशासनले सीमा क्षेत्रमा सक्रियता बढाएको दाबी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कडा निर्देशन दिइएको जानकारी जनाएका छन् ।
जोखिम बढ्दै गएकाले मुख्य नाकाहरूका साथै खुला सीमा क्षेत्रमा समेत निगरानी र नियन्त्रणको कार्यलाई अझ प्रभावकारी र सशक्त बनाइएको बाँके प्रशासनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्