May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भवः महासचिव पोखरेल

Advertisement

दाङ– लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताएका छन् ।

Advertisement

लुम्बिनी प्रदेशको नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उनले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै सुरु हुने उल्लेख गरे । लुम्बिनी प्रदेश यस मामिलामा देशका सातै प्रदेशमध्ये अगुवाइ गर्न सफल भएको उनको भनाइ थियो ।

पोखरेलले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार गुरुयोजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिनेछ ।

‘राजधानीको स्वरूप कस्तो हुन्छ भन्ने अनुभव अहिले नै यहाँबाट लिन सकिन्छ,’ उनले भेन, ‘भविष्यका बारेमा चिन्ता गर्नेहरूलाई गुरुयोजना कार्यान्वयनमा सहकार्य गर्न म आग्रह गर्दछु ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी र प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याल लगायतको उपस्थिति थियो ।