May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

Advertisement

भैरहवा– पछिल्ला केही दिनयता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र तातो हावाले दैनिक ज्याला मजदुरी तथा साना व्यापार गरेर जीविकोपार्जन गर्ने वर्गलाई सबैभन्दा बढी प्रभावित बनाएको छ ।

Advertisement

खुला आकाशमुनी बस्दै दिनभरि काम गर्नुपर्ने बाध्यताले फुटपाथ व्यवसायीहरूको जीवन झन् कष्टकर बनेको छ । न त उनीहरूसँग पंखा छ, न त एसी जस्ता सुविधा—घामको सामना गर्दै काम गर्नु नै उनीहरूको बाध्यता बनेको छ ।

सिद्धार्थनगर नगरपालिका–९, कठौतियाका मनश्याम केवट यस्तै एक पात्र हुन्, जो विगत ३० वर्षदेखि मकै पोल्ने पेशामा आबद्ध छन् । कालो छाताको सानो ओतमा बसेर हातमा बिनिया चलाउँदै मकै पोलिरहेका उनी भन्छन्, ‘यो पेशा हाम्रो पूर्खादेखि चल्दै आएको हो, काम नगरी खान मिल्दैन । त्यसैले गर्मीको बेस्ता गरी व्यवसाय गर्दै आएको छु ।’

उनका अनुसार दिनभरि चर्को घामका कारण ग्राहकको आवतजावत निकै कम हुने गरेको छ । ‘पहिले राम्रो व्यापार हुन्थ्यो, अहिले भने साँझपख मात्र केही ग्राहक आउँछन्,’ उनले भने, ‘गर्मीले ब्यापार ह्वात्तै घटेको छ ।’

दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताउने केवट अहिले त्यो आम्दानी समेत घट्दै गएको गुनासो गर्छन् ।

यस्तै बुद्धचोक क्षेत्रमा उखको जुस बेच्दै आएका आकाश हरिजनको अवस्था पनि फरक छैन । मर्चवारीमाई गाउँपालिका–५ का स्थायी बासिन्दा हरिजन भैरहवाको गल्लामण्डी क्षेत्रमा कोठा भाडामा लिएर यहीँ व्यापार गर्दै आएका छन् । उनी भन्छन्, ‘पहिले जस्तो व्यापार अहिले छैन, गर्मी अत्यधिक बढेको छ, ग्राहक कम आएका छन् ।’

दिनभरि तातो सडक छेउमा उभिएर काम गर्दा स्वास्थ्यमा समेत असर परेको उनी बताउँछन् । तराईको बढ्दो तापक्रमले सडक किनारमा जीवन धान्ने यी साना व्यवसायीहरूलाई गम्भीर समस्यामा पारेको छ । आम्दानी घट्दै जाँदा दैनिक गुजारा चलाउनै मुस्किल हुन थालेको छ ।