‘मिडियाको उत्थानमा कुनै पनि सरकारले राम्रो काम गरेनन्’


बुटवल– निजी संचारमाध्यमका संचालक तथा अगुवाहरुले कुनै पनि सरकारले मिडियाको हकहीत र उत्थानमा काम नगरेको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा आइतबार ‘आर्थिक संकटमा मिडिया, अबको बाटो विषय’ बहस कार्यक्रममा सहभागी वक्ताले कोभिडपछि मिडिया क्षेत्र संकटमा परेको तर सरकारी तहबाट उत्थानका कार्यक्रम नभएको जनाए ।
बहसमा कान्तिपुर मिडिया गु्रपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले कोभिड अघिका वर्षमा सबैभन्दा राम्रोसँग मिडिया सञ्चालन भएको जनाए । ‘मिडियाको उत्थानका लागि कुनै सरकारले खासै काम गरेको जस्तो लाग्दैन । समयअनुसार अघि बढ्नुपर्छ । पुस्ताको माग अनुसार जानुपर्छ । पत्रकारिता के हो भन्नेबाट कुरा सुरु गर्नुपर्छ । पत्रकार युटुबर्स होइन,’ उनले भने ।
अझ सशक्त पत्रकारिता गर्ने बेला आएको उनले जनाए । ‘पत्रकारिता हिजो, आज र भोली रहनेछ,’ उनले भने, ‘यसका लागि हामीले टिकिराख्ने र टिकाईराख्ने माध्यमको खोजी गर्नुपर्छ । सरकारको मुख ताकेर मात्रै हुँदैन ।’ उनले निजी संचारमाध्यम अब्बल सावित हुन समाचार जनजीविकाको सवालमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यस्तै बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कँुवरले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने हो भने निःशुल्क प्रकाशन गर्नुपर्ने बताए । सरकारको यो निर्णयले भ्रष्टाचारलाई बढावा दिएको उनको आरोप छ । ‘विज्ञापन बिना कसरी मिडिया चल्छ ? समग्रमा हेर्नुपर्छ । सरकारले निजी सञ्चार माध्यमलाई विज्ञापन नदिनु भनेको भ्रष्टाचारलाई बढावा दिनु हो,’ उनले भने ।
नेपालगञ्ज दैनिकका सञ्चालक झलक गैरेले वर्तमान सरकारप्रति गम्भिर आशंका रहेको बताए । ‘सरकार जुन नियतले अघि बढेको छ, त्यसले निजी क्षेत्रले जिस्काएको छ,’ उनले भने । मिडिया संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । कोभिडपछि आर्थिक क्षेत्र प्रभावित भएको र त्यसपछि मिडियामा विज्ञापन घटेको गैरेले बताए ।
न्यूज एजेन्सी नेपालको अध्यक्ष कृष्णा पौडेलले मिडिया हाउस जति बलियो र स्थायित्व हुन्छ, त्यत्ति नै न्यूज एजेन्सी बलियो हुने कुरा निर्धारण हुने बताइन् । ‘मिडिया बलियो हुनुपर्छ भन्नेमा दुइमत नै छैन,’ उनले भनिन्, ‘यसका लागि कन्टेन्ट राम्रा हुनपर्यो ।’ मिडिया जोखिममा परेको उनले जनाइन् । संकटको बेला मिडियालाई कसरी दिगो सञ्चालन गर्न सकिन्छ भन्ने कुरा जान्न इन्टरनेशनल मोडल हेर्नुपर्ने पौडेलले बताइन् । कार्यक्रमको सहजीकरण पत्रकार नरेश केसीले गरेका थिए ।








प्रतिकृया दिनुहोस्