August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सुनवलमा अस्पताल निर्माण गर्दै सर्वोत्तम सिमेन्ट

Advertisement

नवलपरासी– संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेडले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ ।

Advertisement

करिब ४ करोड रुपैयाँ लागतमा सर्वोत्तम सिमेन्ट लिमिटेडले लिफ्टसहितको तीनतले ‘सर्वोत्तम इमर्जेन्सी अस्पताल’ को निर्माण गर्न लागेको हो । कोभिड–१९ को वेलामा सिमेन्ट र नगरपालिकाबिच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो ।

निर्माणको सम्पूर्ण खर्च सिमेन्ट उद्योगले व्यहोर्ने छ । अस्पताल एक वर्षभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिने योजना रहेको सिमेन्ट उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले बताए ।
नगरप्रमुख विमला अर्यालका अनुसार जग्गा अभावका कारण केही समय रोकिएको उक्त अस्पताल निर्माण योजना नगरपालिकाले आवश्यक पर्ने जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया अघि बढेको हो । नगरपालिकाको अघिल्लो कार्यकालका नगरप्रमुख भीमबहादुर थापाको कार्यकालमा भएको सम्झौता अहिले कार्यान्वयनमा आएको हो ।

सर्वोत्तम सिमेन्ट उद्योगले नगरपालिकालाई यस अघि उफलब्ध गराएको १७ वटा भेन्टिलेटर अस्पताल निर्माणपछि ती उपकरणको मरम्मत तथा सर्भिसिङ गरी सोही अस्पतालमा व्यवस्थापन गरिने जनाइएको छ । उक्त अस्पताल सञ्चालनपछि सुनवल क्षेत्रका स्थानियवासीन्दाले सहज रुपमा र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।