August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

अतिक्रमण, फडानी र सुक्खाले चुरे संकटमा

Advertisement

भैरहवा– मुलुकको कान्छो पहाडको रुपमा रहेको चुरे संकटमा परेको छ । अतिक्रमण, अव्यवस्थित बसोबास, वन फडानी र सुक्खाले तराई–मधेसमा पानीको स्रोतका रुपमा रहेको चुरे संकटमा परेको हो । चुरे संकटका कारण तराईको उर्वर जमिन संकटमा परेको छ । भने, सर्वसाधरणको पिउने पानीको स्रोत ट्युववेल सुकेका छन् ।

Advertisement

चुरे शृङ्खलाले पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाको ८ सय किलोमिटर भूभाग समेटेको छ । यही पहाड रसाएर खहरे खोलामा पानी बग्ने गरेको हो । पछिल्लो समय चुरेमा रहेका पानीका मूल सुकेका छन् । हरियाली कम भएको छ । चुरे फेंदमै ठूला सहर विकास भएका छन् । जसले गर्दा चुरे खुम्चिने क्रम जारी छ ।

लुम्बिनी प्रदेशमा पश्चिम नवलपरासीको बर्दघाटदेखि बर्दियाको चिसापानी पुलसम्म चुरे क्षेत्र छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमका अनुसार जथाभावी चुनढुंगा उत्खननले चुरेका डाँडामा भूक्षय बढेको छ । चुरेकोबाट रसाउने पानीलाई बस्ती विकासका क्रममा बनेका कंक्रिट भवन र कालोपत्रे सडकले खोलामा मिसाइदिने गरेका छन् । जसले गर्दा पानी सोझै बगेर जान्छ, जमिन सिंचित हुँदैन् ।

पहिले चुरे क्षेत्रमा हरियाली हुँदा २०–२५ फिट पाइप गाडेपछि जमिनमुनि पानी भेटिन्थ्यो । अहिले १ सय १० फिटसम्म तल पुगिसकेको चुरे फेंदीमा बसोबास रहेकाहरु बताउँछन् । जमिनमुनि पानीको सतह बर्सेनि १० देखि १५ फिटसम्म तल झर्दै गएको र पछिल्लो १० वर्षमा १ सय १० फिटसम्म तल पुगिसकेको उनीहरूको दाबी छ ।

पहिले तराईका जिल्लामा ३० फुट पाइप गाडेपछि पानी आउँथ्यो । आजकाल कम्तिमा ७० फुटसम्म गाड्नु पर्छ । भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दाङका वरिष्ठ हाइड्रोजियोलोजिस्ट नमराज भट्टराइले चुरे क्षेत्रको विनाश र खेतीयोग्य जमिनको प्लटिङको प्रभाव भूमिगत पानीमा परेको बताए ।

‘१० वर्षअघिसम्म चुरे क्षेत्रबाट बग्दै आएको पानी फेंदमा रहेको हजारौं बिघा जमिनमा फैलिन्थ्यो । हप्तौं झरी पथ्र्यो । पानी जमिनमुनिको सतहमा जम्मा हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले न चुरेमा रिचार्ज गर्नेगरी जंगल छ, न त्यसको पेंmदमा समथर जमिन । सबै कंक्रिटका घरले जमिन ढाकिएपछि बगेर आएको पानी पनि ढल र नाली मार्पmत सिधै खोलामा पुग्न थालेपछि जमिनमुनी कसरी पानीको सतह भेटिनु ।’

चुरेको दोहन र अतिक्रमणले त्यसको पेंmदमा रहेको भावर क्षेत्रको जमिन रिचार्ज नभएकाले भुमिगत सतहमा रहेको पानीको स्रोत गहिरिँदै गएको उनले बताए । उनका अनुसार अहिले रूपन्देही, कपिलबस्तु, दाङ लगायतका तराईका जिल्लाका खेतीयोग्य जमिनमा सबै भन्दा धेरै समस्या देखिन थालेको छ ।

चुरे शृङ्खला आपैmमा पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्र चट्टानले बनेको क्षेत्र हो । त्यसैले प्राकृतिक रुपमा अत्यन्तै संवेदनशील मानिन्छ । चुरेको संवेदनशिलतालाई बेलैमा बुभ्mन नसके त्यसले ठूलो मानवीय विपत्ति निम्त्याउने वातावरण अध्ययता युवराज कंडेलले बताए । ‘तर, त्यसको जानकारी हुँदाहुँदै पनि पूर्वाधार विकास र पर्यटन पूर्वाधारका नाममा चुरेलाई छियाछिया पार्ने काम बढिरहेको छ,’ उनले भने, ‘त्यसको असर अहिले भूमिगत पानीको स्रोतमा देखिन थालेको छ । तत्काल ठोस कदम नचालिए ठुलै मानवीय विपत्ति पनि निम्त्याउन सक्ने अवस्था देखिन्छ ।’ लुम्बिनी प्रदेश अन्तर्गतका ९ जिल्लामा पर्ने चुरे क्षेत्रमा संरक्षणको काम हुँदै आएको छ । ९ जिल्लाका ५२ वटा स्थानीय तह कार्यालयको कार्यक्षेत्र भित्र पर्छ ।