विपदको वेला उद्धाका लागि गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको वेश


गुल्मी–प्राकृतिक प्रकोप तथा मनसुनजन्य विपद्का घटनालाई लक्षित गर्दै गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीले मनसुनजन्य विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षाका लागि ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–७, वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसको भवन परिसरमा उक्त बेश सञ्चालनमा ल्याइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक टोप बहादुर कुमालको कमाण्डमा १५ जनाको विशेष टोली सो क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुदिप प्रसाईले बताए ।
सडक अवरुद्ध भएमा तत्काल खुलाउन र सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन यो बेश प्रभावकारी हुने बिश्वास लिइएको छ । विपदका बेला तत्काल उद्धारमा यो खटिने छ ।
प्रसाईका अनुसार, मनसुन सक्रिय हुने समय नजिकिँदै गर्दा पहाडी भू–भागमा हुन सक्ने बाढी, पहिरो लगायतका प्राकृतिक विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप बेश स्थापना गरिएको हो । विपद्को समयमा तत्काल खोज तथा उद्धार कार्यमा वेश खटिने छ । विपद् व्यवस्थापनका अतिरिक्त सो क्षेत्रका मुख्य राजमार्गहरूको सुरक्षा पनि वेशले गर्ने छ ।
स्थापना गरिएको वेश बागलुङ्ग जिल्लाको सिमानासँग नजिक पर्ने हुँदा प्रदेश सिमानामा हुने आवतजावतको निगरानी समेत गर्ने उद्देश्य रहेको प्रसाईले जनाए ।








प्रतिकृया दिनुहोस्