August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

मन्तव्य बिनैको बुद्ध जयन्ती, वर्षातले झनै खल्लो

Advertisement

भैरहवा– बिहानपख ठूलो पानी पर्याे । जसले गर्दा २५७०औं बुद्ध ज्यन्ती कार्यक्रमको तालिका नै प्रभावित भयो । शुक्रबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बिहानको ५ बजेदेखि नै ध्यान र पुजाआजाका कार्यक्तम राखिएको थियो ।

Advertisement

बिहान साढे ६ बजे नै कार्यक्रम सक्ने लक्ष्य रहे पनि त्यो पूरा भएन । सुरुमा प्रधानमन्त्री बालेन्द्र शाह आउने भनेर कार्यक्रम तय गरिएको थियो । बुधबार साँझ अबेर मात्रै प्रधानमन्त्री नआउने भएपछि सभामुख डोलप्रसाद अर्याल (डीपी) प्रमुख अतिथि भएर बिहीबार साँझ नै लुम्बिनी आएका थिए ।

भारी वर्षाले बुद्ध जयन्तीको कार्यक्रम प्रभावित भए पनि मायादेवी मन्दिरको पश्चिमपट्टी बनाइकाऐ मंचमा अतिथिहरु आसनग्रहण नै गर्न पाएनन् । पानीकै कारण कार्यक्रम सरेर सवा आठ बजेदेखि साढे ९ बजेसम्म चल्यो, त्यो पनि मायादेवी मन्दिरभित्र । त्यहाँ सभामुख अर्याल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश), संघीय सांसद तौफिक अहम्मद खान, डा.लेखजंग थापा, सुलभ खरेल, पुनमकुमारी अग्रवाल, श्रद्धा कुँवर, अनुष्का श्रेष्ठ, ज्ञानु पौडेल, भिक्षु, भिक्षुणी, डोल्मासर, नेपालस्थित विदेशी कुटनीतिज्ञ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी लगायतले ध्यानसहित पुजाआजा गरेका थिए ।

पश्चिमपट्टी लुम्बिनी विकास कोषले ठुलो व्यानर राखेर चिटिक्कको दुलही सजाए जसरी मंच सजाएको थियो तर पानीले त्यो मंचमा पुग्न त के अथितिहरुले हेर्न समेत पाएनन् ।

विगतमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म बुद्धजयन्तीको प्रमुख अतिथि हुन्थे, विमास निर्माणका प्रतिबद्धता व्यक्त गर्थे । कुटनीति नियोगका प्रतिनिधि, स्थानीय सरकारका प्रमुखदेखि सांसदसम्मले मन्तव्य दिन्थे । यसपटक दृश्य फरक देखियो । मन्तव्य नै भएन । सभामुख र मन्त्रीहरु एक शब्द नबोली फर्किए ।

लुम्बिनी आएका अतिथिहरु तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई पनि पानीले तितरवितर पार्यो । बुद्ध जयन्ती भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने भएकाले यसको निकै महत्व मानिन्छ । बुद्ध जन्मस्थल भएर पनि अझै पनि लुम्बिनीमा पर्याप्त पर्यटक आउन सकेका छैनन् भने गुरुयोजनाकै काम साढे चारदशकदेखि अधुरो छ । यसबारे विभागीय मन्त्री पौडेलको धारणा सुन्न सहभागी र संचारकर्मी आतुर थिए । तर, मन्तव्य विनै कार्यक्रम सकियो र अतिथिहरु आआफ्नो गन्तव्यतिर लागे ।

बुद्ध शिक्षाहरुले मानिसलाई लोभ, क्रोध, मोह जस्ता नकारात्मक भावनाबाट टाढा रहन र नैतिक तथा अनुशासित जीवन बिताउन सिकाउँछन् । बुद्धका उपदेशहरु मध्यम मार्ग, चार आर्य सत्य र अष्टाङ्गिक मार्ग आज पनि जीवनलाई सन्तुलित र सार्थक बनाउन मार्गदर्शक छन् । अझ भन्ने हो भने आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा बुद्धका विचारहरु झनै सान्दर्भिक हुँदै गइरहेका छन् । त्यसैले बुद्ध जयन्ती केवल धार्मिक पर्व मात्र नभई विश्व शान्ति र मानव कल्याणको प्रतीकका रुपमा पनि महत्वपूर्ण मानिन्छ ।

यस्तो महत्वपूर्ण अवसरमा आएका राष्ट्रका उच्च ओहदाका अधिकारीहरुले लुम्बिनीबाट कुनै सन्देश दिएनन् । यसले बुद्ध जयन्तीलाई खल्लो बनाएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।