‘थारु संस्कृति पुस्तान्तरणमा समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताएका छन् ।
थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा धनी भए पनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको उल्लेख गरे ।
‘थारु समुदायको पहिचान यसको कला, संस्कृति, सभ्यता, संस्कार र भाषाले निर्धारण गर्छ । त्यसैले यी मूल्यहरू पुस्तान्तरण गर्न समुदायबाटै विशेष जोड दिन आवश्यक छ,’ उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संस्कृति संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए । उनका अनुसार वडघर सम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित भई प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको छ । परम्परागत कला तथा संस्कृतिको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए ।
थारु बाहुल्य जिल्लालाई लक्षित गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले मुक्त कमैया र कमलहरीको सिप अभिवृद्धि तथा उच्च शिक्षाका लागि सहयोगका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारु, प्रदेश सभा सदस्य इन्द्रजित थारुले थारु समुदायको उत्थान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकारले बजेटको आकारअनुसार सम्बोधन गर्न पर्ने बताए ।
प्रदेश सभा सदस्य थारुले लुम्बिनी प्रदेशभित्रका कमलहरीका लागि उच्च शिक्षा सहायता छात्रवृत्ति, सिकलसेल रोगको उपचार सहयोगलाई नियमित कार्यक्रमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी, भुयाँर थान निर्माण, वडघर संस्कृतिको संरक्षण तथा थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने विषयमा पनि जोड दिइएको थियो । थारु सभ्यताको संरक्षण प्रज्ञा प्रतिष्ठानमार्फत अघि बढाउने तयारीसमेत रहेको जनाइएको छ ।
कार्यक्रममा पत्रकार सन्तोष दहितले थारु समुदायसँग सम्बन्धित विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा थारु समुदायका अगुवाहरुको सहभागीता थियो ।








प्रतिकृया दिनुहोस्