July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

मोरिङ्गा प्रयोग र प्रवर्द्धनमा जोड

Advertisement

भैरहवा– मोरिङ्गा खेती र यसको प्रयोगमा सरोकारवालाले जोड दिएका छन् । एकीकृत मोरिङ्गा प्रशोधन केन्द्र सिद्धार्थनगर–५ ले भैरहवामा आयोजना गरेको मोरिङ्गा प्रवर्द्धन तथा सचेतना कार्यक्रममा बोल्दै सरोकारवालाले यसका फाइदै फाइदा रहेको जनाए ।

Advertisement

प्रशोधन केन्द्रकी संचालिका सलुजा रामदामले आफूले विगतमा प्रशिक्षण लिएपछि औषधीमूलक यो जडीबुटी हाम्रो जीवनमा पनि प्रयोगमा ल्याउनुपर्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको जनाइन् । केही दिदीबहिनीहरुसँग मिलेर जग्गा लिजमा लिएर मोरिङ्गा खेती पनि गरिरहेको र प्रशोधन उद्येग पनि चलाइरहेको उनले बताइन् ।

रामदामले उद्योगी व्यवसायीहरुलाई मोरिङ्गाको प्रबद्र्धन र प्रयोगमा लाग्न आग्रह गर्दै रोगप्रतिरोधी क्षमता बढाउन र दीर्घरोगबाट बच्न आग्रह गरिन् । जडिबुटीको उद्यमशिलता विकासका लागि आफूले प्रयास गरिरहेको उनको भनाई छ ।

मोरिङ्गाका छिटो बढ्ने सानो मध्यम आकारको रुख हो । यसका साना हरिया पात र कोसाहरुलाई तरकारी वा सूपमा प्रयोग गर्न सकिन्छ । मोरिङ्गालाई सुपर फुड पनि भनिन्छ । किनकि यसमा धेरै पोषक तत्व पाइन्छ । मोरिङ्गामा गाजरमा भन्दा ४ गुण बढी भिटामिन ए पाइन्छ भने दूधमा भन्दा ४ गुण बढी क्याल्सियम पाइने बताइन्छ । यसले शरीरलाई शक्तिशाली बनाउन मद्दत गर्नुका साथै शरीरमा रगतको मात्रा बढाउन पनि सहयोग पुग्छ ।

क्याल्सियम, पोटासियम, आइरन, शक्तिशाली एन्टिअक्सिडेन्ट यसमा पाइन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार मोरिङ्गा नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन, रक्तचाप र चिनी नियन्त्रण, शरीरको तौल कम गर्न, पोषण अभाव घटाउन सहयोग गर्छ । मोरिङ्गा सागका रुपमा वा सूप बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

यसको फल तरकारीका रुपमा प्रयोग गरिन्छ भने पाउडरलाई जुस, दूध वा खानामा मिसाएर पनि खान सकिने प्राकृतिक चिकित्सक एवं मोरिङ्गा विज्ञ डा.हुमबहादुर बोहराले बताए । मोरिङ्गाको खेती घरघरमा गर्न सकिने उनले जनाए । बोहराले यदि सिद्धार्थनगरले अग्रसरता लिने हो भने लगानीको प्रबन्ध आफूहरुले मिलाउने प्रतिबद्धता व्यक्त गरे । तीनै तहका सरकारले मोरिङ्गाको खेती र उपयोगका लागि अपनत्व लिनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, पूर्वअध्यक्ष कुलप्रसाद न्यौपाने, संघकी सहकोषाध्यक्ष पल्लभी न्यौपाने लगायतले बोल्दै स्वदेशी जरिबुटीको रुपमा रहेको मोरिङ्गाको व्यवसायिक प्रवद्र्धनमा जोड दिए । उनीहरुले आफ्नो करेसाबारीमा पनि यसको विरुवा लगाएर दैनिक सेवन गरी लाभ लिन आग्रह गरे ।