रोटी–बेटीको सम्बन्धमाथि ठाडो हस्तक्षेप !


नेपाल–भारतको सम्बन्ध केवल राजनीतिक सम्बन्ध होइन, यो त हजारौं वर्ष अघि स्थापित बैवाहिक सम्बन्ध स्थापनादेखि नै रहँदै आएको छ । त्रेता युगमा श्रीराम मिथिलाकी राजकुमारीलाई बिवाह गर्न जनकपुर आएको होस् या त फेरि आधुनिक नेपाली इतिहासमा नेपालका शाह वंशीय राजाहरु–राणाहरुले भारतमा छोरीको बिवाह गर्ने, भारतीय राजकुमारीहरु नेपालको रानी–महारानी बनेको इतिहास छ ।
विशेश गरि तराई–मधेशका भूभागमा अत्याधिक मात्रामा नेपाल–भारतमा छोरी बिवाह गरिदिने, बुहारीको रुपमा कन्या भित्र्याउने चलन छ । यहि नै ‘रोटि–बेटी’को सम्बन्धको नाउले प्रख्यात छ । यतिमात्र नभएर धार्मिक यात्रा, औषधिउपचार, उच्चशिक्षा लगायतको लागि दुबै देशतर्फ नागरिकहरु बिना रोकतोक अवागमन गरेको सर्वविदितै छ । यो एक किसिमको परम्परा, आवश्यकता, बानी, विश्वासको रुपमा स्थापित भइसकेको छ ।
वर्तमानमा गठित नयाँ सरकारले तराईको सदियौको परम्परा, विश्वास, सरल जीवनयापन गरिरहेका सीमा क्षेत्रका जनतामाथि चोरी–तस्करीको नाउमा ‘१०० माथि भन्सार’को कडा नियम अवलम्बन गर्दा सिमा क्षेत्रका नागरिकले पीडा बोध गरिरहेका छन् । बिवाह होस् या सामान्य भ्रमण, तिर्थयात्री होस् या विद्यार्थी, सबैले आफूसँग केही सामान किनमेल गरि ल्याउने, लैजाने गरेका छन् । अहिले भन्सार कर्मचारी होस् या प्रहरी– सबैले एक आँखाले तस्करीको रुपमा समात्नु गम्भीर विषय हो ।
प्रत्येक जिल्लाहरुमा एउटा या दुई नाका मात्र भएको हुँदा सबैले भन्सार सुबिधा पाउन सक्दैन । जस्तै सेमरा–मर्चवारको नागकिकले ५०० को सामान भन्सार गर्न ३२ किमि बेलहिया नाका आउनु अस्वभाविक हो । सहर होइन, गाउँतर्फ ठूलो बजार नभएकाले सबै भारतमै आश्रित छन् ।
रह्यो कुरा १०० को । १०० मा के आउँछ ? सुनौली पुग्न १०० त भाडा पनि पुग्दैन । यो रकम अपुग छ । यसलाई कम्तिमा २ हजार गरिनु पर्छ । तस्कर–केरिङलाई गम्भीरता पूर्वक हेर्नूपर्छ । घरायसी सामान, नयाँ–नयाँ उत्पादन, छुट ग्राहकको आकर्षण हुने गर्छन् ।
चाहिएको सबैथोक नेपालमा नपाइन सक्छ । त्यसैले सिमा नजिकको सहज सुबिधा नै भारतीय बजार बनेको छ । यति मात्र होइन केवल नेपाली उपभोक्ता नभएर भारतीय नागरिक पनि नेपाल आउने, आफूलाई चाहिने सस्तो जडीबुटी, मरमसाला, बिदेशी लत्ताकपड़ा नेपालबाट किनेर लाने गरेका छन् । नेपाली चेली भारत, भारतीय चेली नेपाल आउँदा बिदाइ स्वरुप कपडा, फलफूल, चामल, दाल, घिउतेल पठाउने चलन छ । भारतबाट कमाएर ल्याउने तथा धार्मिक यात्रा गरेर फर्कंदा समेत नागरिकले आवश्यक सामान ल्याउने भएकाले उनीहरुलाइ रोक्दा कत्तिको जायज हो ?
मधेशसँगको विभेद
विदेश यात्रा गरेर आउँदा २५ ग्राम सुन ल्याउन पाउने । टिभी, मोबाइल लिएर आउँदा भन्सार नतिर्नुपर्ने । तर, तराईमधेशमा यतिको कडाईले उत्तर–दक्षिणको हेराइमा विभेद देखिएको छ ।
वर्तमान रास्वपाको सरकारलाई तराई मधेशले सर्वाधिक मत दिएको छ । आफ्ना जनप्रतिनिधिले केही नबोलीदिँदा तराई मधेशले सरकारी निर्णयको असहज महसुस गर्दा सरकार गम्भीर हुन जरुरी छ । यसले अल्पकालिन होइन कि दीर्घकालिन रुपमा ‘रोटि– बेटी’को सम्बन्ध साथै धार्मिक एवं शैक्षिक क्षेत्रमा समेत असर पर्ने देखिएको छ ।








लेखकको सम्वन्धमा