बुद्ध जयन्तीका अवसरमा काठमाडौं–लुम्बिनी साइकल यात्रा


भैरहवा– लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले बुद्ध जन्मस्थलमा रहेको द युनिभर्सल पिस स्याङचुरीले चारदिने साइकल यात्रा गर्ने भएको छ । वैशाख १५ गते काठमाडौंदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु हुन लागेको हो । उक्त अभियानमा १ सय ८ साइकलयात्री सहभागी हुने द युनिभर्सल पिस स्याङचुरीले जानकारी दिएको हो ।
साइकलयात्री काठमाडौंबाट लुम्बिनीसम्म यात्रा गर्नेछन् । २८ अप्रिलमा यात्रा सुरु भएर बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा समापन हुनेछ । सहभागीहरू काठमाडौंबाट हेटौंडा, नारायणघाट, कावासोती, दाउन्ने र भैरहवा हुँदै लुम्बिनी पुग्नेछन् । आयोजकका अनुसार विश्वका विभिन्न भागमा युद्ध र द्वन्द्व जारी रहेको अवस्थामा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन साइकल यात्रा आयोजना गरिएको हो ।
आयोजकका अनुसार बुद्ध पुर्णिमाका दिन लुम्बिनीमा हजारौं मानिस मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । २ मेमा ध्यान कार्यक्रम आयोजना गरिनुका साथै श्याल्पा रिन्पोछेद्वारा लिखित पुस्तक ‘द पाथ टू पर्फेक्ट फ्रिडम’ को नेपाली अनुवाद सार्वजनिक गरिनेछ । श्याल्पा रिन्पोछेले संयुक्त राष्ट्र संघ, वल्र्ड ईकोनमिक फोरम र ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।








प्रतिकृया दिनुहोस्