चोरी गरेको अभियोगमा दुई पाकिस्तानी महिला पक्राउ


कपिलवस्तु–सुनका गर गहना चोरी गरेको अभियोगमा कपिलवस्तु प्रहरीले पाकिस्तानी दुईजना महिलालाई पक्राउ गरेको छ ।
उनीहरु यस भन्दा अघि पनि नेपालका सुन पसलबाट सुनका गरगहना चोरी गर्ने गरेको भनाइ प्रहरीको छ । उनीहरु पछिल्लो पटक कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटाबाट सुनका गहना चोरी गरेपछि पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता रिपेन्द्रकुमार सिंहले बताएका छन् । पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद भएको सिंहले जनाए ।
प्रहरीका अनुसार चैत ३० गते साँझ साढे ५ बजेतिर सामान्य ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरेका उनीहरूले सुन किन्ने बहानामा गरगहना चोरी गरेका थिए । चोरी गरेपछि पसलबाट बाहिर निस्कँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेक थिए ।
यस भन्दा अघि उनीहरूले रुपन्देहीको योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त महिलाहरुले रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको खुलेको छ । उनीहरूले नगद देखाउने तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाएको र उनीहरूविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको भनाइ प्रहरीको छ ।








प्रतिकृया दिनुहोस्