पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर निर्माण कार्यमा


भैरहवा– इरान–इसरायल–अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको आयात प्रयाप्त नहुँदा त्यसको असर विभिन्न आयोजनाको निर्माणमा परेको छ । निर्माण व्यवसायीका अनुसार प्रयाप्त विटुमिन आयात नहुँदा सडक पिच गर्ने काम प्रभावित भएको छ । जसले गर्दा धेरैं सडक आयोजनाको पिच गर्ने काम रोकिएको छ ।
जसले गर्दा निर्माण व्यवसायीले मजदुरको संख्या कटौती गर्दै लगेका छन् । इरान–अमेरिका, इजरायल द्वन्द्वको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण व्यवसायीहरु कामै रोक्ने भन्दा कामदार घटाउनेतर्फ अग्रसर देखिएका हुन् । बुटवल–गोरुसिंगे आयोजनाका अनुसार विटमिन अभावले काम प्रभावित छ ।
डिजेलमा भएको मूल्यवृद्धिले हरेक निर्माणको क्षेत्रमा असर परेको छ । आन्तरिक बजारको अस्थिरताले निर्माण सामग्रीमा व्यवसायीले गरेको अनियन्त्रित मूल्यवृद्धिले थप असर गरेको छ । निर्माण व्यवसायी संघ पाल्पाका महासचिव राजेन्द्र केसीका अनुसार मूल्यवृद्धिले कुनै पनि काम अघि बढाउनै नसक्ने भएकाले कामदारको संख्या पनि घटाउँदै लगिएको छ । ‘एक महिना अघिसम्म ५०–६० कामदार राखेका व्यवसायी अहिले ५–७ जना राखेर काम गर्नु परेको छ,’ उनले भने, ‘काम गराउनै नसक्ने अवस्था आयो ।’
अवस्था अझ केही दिन रहने हो भने पाल्पाका निर्माण आयोजना ठप्प हुने स्थिति आउने संघका पाल्पा अध्यक्ष दामोदर गैरेले बताए । संघले तानसेनमा पत्रकार सम्मेलन राखेर वर्तमान परिस्थितिलाई ‘निर्माण आपतकाल’ घोषणा गर्नुपर्ने बताएको छ ।
पछिल्लो समयमा भएको इन्धन, अलकत्रा, सिमेन्ट, फलामजन्य सामग्री, गिट्टीबालुवामा भएको अप्रत्याशित मूल्यवृद्धिले व्यवसायी मर्कामा परेको अध्यक्ष गैरेले बताए । उनले व्यवसायीलाई म्याद थपको व्यवस्थामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइएको बताए । डिजेल, पेट्रोल र मट्टीतेल जस्ता इन्धनजन्य पदार्थमा पटक–पटक भइरहेको मूल्यबृद्धिले ढुवानी र उत्पादन लागतलाई थेग्नै नसक्ने अवसथमा पुर्याएको बताए ।
भाउ बढ्दा र क्रसर उद्योगमा देखिएका समस्याले निर्माण सामग्रीको चरम अभाव भएको अध्यक्ष गैरेले बताए । सरकारले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गरी व्यवसायीलाई राहत दिनुपर्नेमा संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर कार्कीको जोड छ । जिल्लाका कालीगण्डकी करिडोर, सडक निर्माणकालागि लागेका ठेक्का, भवन निर्माणलगायतका काममा अहिले असर गरेको उनले बताए ।
मूल्यवृद्धिका कारण जिल्लाका ठूला योजनाको काम रोक्नुपर्ने अवस्था सिर्जना भएको र विद्यमान कानुनी व्यवस्थाबाट मात्रै वर्तमान संकट समाधान नहुने रुपन्देहीका एक निर्माण व्यवसायीले बताए । सरकारले तत्काल मूल्य समायोजन मार्ग निर्देशिका जारी गर्नुपर्ने उनले बताए । ‘निर्माण व्यवसायीहरुको मागलाई बेवास्ता गरेमा निर्माण कार्य पूर्णरूपमा रोकिनेछ,’ उनले भने, ‘समयमै सजग गराएका छौं । यसमा सरकारको ध्यान पुगोस् भन्ने हो ।’








प्रतिकृया दिनुहोस्