August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

ज्ञवालीद्वारा नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा आपत्ती

Advertisement

भैरहवा– पूर्वपरराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । नेता ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनिएको भन्दै नयाँ सरकारको भाषा शब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

Advertisement

बालेन्द्र (बालेन) शाह सरकारले राष्ट्रिय दलका घोषणापत्र समेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् ।

हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासङ्गिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् ।

‘त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ’, ज्ञवालीले भनेका छन्,‘सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।’