August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

वैशाख महिनामा बाँकेलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी

Advertisement

नेपालगन्ज–विभिन्न प्रकारका नियमित खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी तीनहिरुलाई खोप लगाएर वैशाख महिनामा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।

Advertisement

नेपालगन्जमा भएको नियमित खोप कार्यक्रमसम्बन्धी सरोकारवालासँगको बैठकले उक्त निर्णय गरेको स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताएका छन् । खोप लगाउन छुटेका बालबालिकामध्ये मुस्लिम समुदायका बालबालिकाको संख्या धेरै देखिएकोले मुस्लिम समुदायलाई विशेष रूपमा लक्षित गर्दै बालबालिकाको खोजी अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उक्त कार्याल्यका अनुसार, बाँकेमा नियमित खोप लगाउनुपर्ने बालबालिकामध्ये करिब १५ प्रतिशत छुटेको पाइएको छ । यसरी छुटेका सबै बालबालिकाको खोजी गरी वैशाख महिनामा बाँकेका आठवटै पालिकाले पूर्ण खोप पालिका घोषणा गरेपछि बाकेलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने योजना बनाइएको गिरीले बताए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खोप लगाउने उमेरका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने गरी काम गर्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई आग्रह गरेका छन् । भने, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले स्वस्थ र सुदृढ नागरिक निर्माणमा खोप कार्यक्रम अत्यन्त प्रभावकारी र महत्वपूर्ण भएको बताएका छन् ।

मदरसा बरकातियाका प्रधानाध्यापक तथा मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा नुरानीले मुस्लिम समुदायमा अशिक्षा र चेतनाको अभावका कारण केही बालबालिका खोपबाट छुटेको हुनसक्ने र सबै बालबालिकालाई खोप लगाउन आफूहरूले प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले जन्मेदेखि नै बालबालिकालाई सबै खोप उपलब्ध गराउन अधिकतम प्रयास भए पनि केही छुटेकाले उनीहरूको खोजी आवश्यक रहेको बताइन् । खोपको महत्वबारे समुदायमा अझै सचेतना अभियान सञ्चालन गर्नुपर्ने भनाइ पौडेलको छ ।