पेडागोजी पाठ्यक्रमबाट स्थानीय आवश्यकतालाई पुरा गर्ने जनशक्ति तयार हुने


भैरहवा–त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका डिन प्रा.डा.महानन्द चालिसेले स्थानीय आवश्यकतालाई पुरा गर्ने गरि दक्ष जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले तयार पारेको पेडागोजी पाठ्यक्रमलाई अझ परिमार्जन गरिने बताएका छन् ।
भैरहवा बहुमुखी क्याम्पसमा सञ्चालनमा आएको एमबीए फाइनान्स कार्यक्रमको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले स्थानीय क्षेत्रमा रहेका उद्योग, बैंकिङ्ग क्षेत्र, व्यवसाय र बजारको अवस्थालाई अध्ययन गरि त्यही अनुरुप पाठ्यक्रम तयार गरि स्थानिय क्याम्पसमा अध्ययन अध्यापन गराइने बताए ।
भैरहवासहित रुपन्देही र आसपासका जिल्ला समेत उद्योग, बैंकिङ्ग, व्यवसाय लगायत आर्थिक गतिबिधि बढी हुने भएकाले पेडागोजी पाठ्यक्रमको महत्व अझ बढि हुने भनाइ उनको थियो । ‘पेडागोजी पाठ्यक्रम स्थानीय क्षेत्रमा रहेका र संभावित उद्योग, व्यवसाय, बैंकिङ्ग र बजारको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको हो’ चालिसेले भने, ‘यहाँका उद्योग, बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम तयार गरिएको हो । जसले विद्यार्थीलाई अध्ययनपछि रोजगारीका अवसर दिलाउनेछ ।’
वर्तमान आवश्यकतालाइ पुर्ती हुने गरि शिक्षालाई व्यवहारमुखी बनाउन आवश्यक रहेको उनले बताए । कक्षाकोठामा सीमित रहने परम्परागत शिक्षाभन्दा बाहिर निस्केर फिल्डवर्क, औद्योगिक भ्रमण, अन्तरक्रिया तथा प्रयोगात्मक अध्ययनलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
‘विद्यार्थीहरूले दुई वर्षे अध्ययन अवधिमा आफूँमा के परिवर्तन ल्याए ? सिकेको सीप विश्वव्यापीकरणको प्रतिस्पर्धामा उपयोगी हुन्छ कि हुँदैन ? भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ’, उनले भने । कर्पोरेट संसारमा टिक्नका लागि शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप अनिवार्य भएको उल्लेख गर्दै सीपविहीन व्यक्ति प्रतिस्पर्धाबाट बाहिरिन सक्ने उनले जनाए ।
भैरहवा बहुमुखी क्याम्पसका एमबीए फाइनान्सका निर्देशक डा.सहदेव भट्टले क्याम्पसले प्रदान गर्ने सेवा, सुविधा तथा शिक्षण पद्धतिमा सुधार गर्दै विद्यार्थीलाई उद्योगसँग नजिक गराउने योजना अघि बढाइएको बताए । विद्यार्थीलाई उद्योगसँग नजिक गराउने योजना अनुरुप नै औद्योगिक क्षेत्रको भ्रमणलाई तीव्रता दिइने र विद्यार्थीलाई व्यावहारिक ज्ञानमा जोड दिइने जानकारी उनले दिए ।
क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले विद्यार्थीहरूले नयाँ कुरा सिक्दै समयअनुसार आँफूलाई परिमार्जन गर्न सक्ने खालको शिक्षा जरुरी रहेको बताए । सहायक क्याम्पस प्रमुख इन्द्रबहादुर थापा, गणेशप्रसाद पाण्डे, विद्यार्थी कल्याण प्रमुख अरुणकुमारी भुसाल तथा एमबीएस कार्यक्रमका निर्देशक प्रकाश भट्टराई, दिवाकर पाण्डे लगायतले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।








लेखकको सम्वन्धमा