August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

उद्यान संरक्षण र विकास सबैको दायित्वः प्रदेशसभा सदस्य श्रेष्ठ

Advertisement

बुटवल– तत्कालीन बुटवल नगरपालिकाको अगुवाईमा सामुदायिक स्तरबाट स्थापना भई संचालनमा रहेको बुटवल हिलपार्क परिषदको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सभ्य र ब्यबस्थित सहरको पहिचान स्थापित गर्न सफल उद्यान तथा पार्कहरुको संरक्षण र बिकासका लागि तनिै तहका सरकार र स्थानीय समुदायको भूमिका महत्वपूुर्ण हुने बताए ।

Advertisement

सरकारले उद्यानको दिगो ब्यबस्थापनका लागि उचित नीति नियमहरु बताउनु पर्ने कुरामा जोड दिँदै बुटवलका पूर्व नगर प्रमुख तथा हिलपार्क परिषदका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले पार्कहरु मनोरन्जनका साधन मात्र नभई शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण रहेको जिकिर गरे । आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित गर्ने उद्देश्यले स्थापित हिलपार्कले सोंचे अनुरुपको पर्यटकहरु आकर्षित गर्न नसकेकोमा उनले चिन्ता ब्यक्त गरे ।

प्रदेशसभा सदस्य एवं पाण्डे सेवा समाजका अध्यक्ष चिन्तामणि पाण्डेले समुदायस्तरबाट पार्कको बिकासमा भएको लगानी अनुसारको कदर नभएको गुनासो गर्दै आवश्यक नीति नियम बनाउन, निर्णयहरु गर्न र बाधा अड्चनहरु फुकाउन सबैको तत्परता आवश्यक रहेको बताए । तीनै तहका सरकारले बनाएका कानुन र वन सम्बन्धी ऐनहरु बाँझिँदा समस्या उत्पन्न हुने गरेको उनको भनाई थियो ।

रास्वपा जिल्ला समिति रुपन्देहीका कार्यबाहक सभापति आशिष न्यौपानेले बिगत केही समय यता देश नयाँ परिस्थिति र नयाँ जनादेशका साथ अघि बढिरहेको उल्लेख गर्दै आर्थिक, सामाजिक र समुदायस्तरको बिकासमा राजनीतिक दलहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । नयाँ पुराना भनेर आपसमा बिभाजित हुने मानसिकता त्याग्न आग्रह गर्दै उनले ताजा जनादेशको कदर गरेर अघि बढ्न सबैलाई सुझाव दिए ।

कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष टंकप्रसाद पराजुली, नेपाल उद्यान महासंघका अध्यक्ष खेमप्रसाद लुईटेल, औषधि ब्यबसायी संघका अध्यक्ष बाबुराम भट्टराई, हिलपार्क परिषदका उपाध्यक्षहरु कृष्णप्रसाद पाण्डे र बोनिन पिया, महासचिव उमाकान्त बस्याल, कोषाध्यक्ष राजेन्द्र ढकाल, लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित केसी लगायतले बोल्दै उद्यान ब्यबस्थापन र संचालनका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए । कार्यक्रममा अध्यक्ष पराजुली, महासचिव बस्याल र कोषाध्यक्ष ढकालको प्रतिबेदन छलफल पश्चान सर्वसम्मत पारित गरिएको थियो ।